• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै



बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।

भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले लज निर्माणका लागि रू ५० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना तयार गरिरहेको पुनले जानकारी दिनुभयो ।

पालिकाले रू १५ लाख बजेट विनियोजन गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्ग क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गर्ने काम अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । “अन्नपूर्णको आधार शिविरको प्रवद्र्धनका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “गुरुयोजनामा प्राथमिकता दिइएका क्षेत्रलाई योजनाबद्ध तरिकाले अघि बढाउने छौँ । यस वर्ष आधार शिविर र भुसकेट मेलामा दुई वटा लज बनाउने तयारी छ ।”

पालिकाले उक्त आधार शिविर जाने पदमार्गलाई थप व्यवस्थित बनाउँदै प्रवर्द्धन गर्न अभियान चलाउने जनाएको छ । यहाँ लज निर्माण गरी सञ्चालनमा ल्याउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार अहिले आधार शिविर जाने पर्यटकले हुमखोलादेखि माथि आफैँ खाना र बसोबासका सामानको बन्दोबस्त गरेर जानुपर्ने बाध्यता छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरीस हर्जोगले गरेकाले नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङ गाउँदेखि आधार शिविर पुग्ने यस पदमार्ग मनोरम दृष्य र प्राकृतिक छटाले भरिपूर्ण छ ।

गाउँपालिकाले पदमार्गअन्तर्गत फुतफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्रामस्थल थप गर्ने, शौचालय र खानेपानीको प्रबन्ध मिलाउने, फोहरमैला व्यवस्थापन गर्नेलगायत कामलाई प्राथमिकता दिएको पालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गका पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म एकैदिनमा पुग्न सकिन्छ । रासस