• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक



काठमाडौं : सूचना चलखेल विरुद्ध केन्द्रित स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । इन्टरनेशनल रिब्लिकन इस्टिच्यूट, नेशनल डेमोक्रेटिक इन्स्टच्यूट र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले अंग्रेजीमा तयार पारेको कम्ब्याटिङ इन्फरमेसन म्यानिपुलेसन, ए प्लेबुक फर इलेक्सन एण्ड बियोण्ड नामको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी राजधानीमा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

स्रोत पुस्तिकामा सूचनाको चलखेल लोकतन्त्रिक प्रकृयालाई प्रभाव पार्ने वा बाधा पुर्याउनका लागि सूचना संकलनदेखि प्रकाशन प्रसारणसम्म हस्तक्षेप गर्ने सुनियोजित रणनीतिलाई सूचनाको चलखेलको रूपमा परिभाषित गरिएको छ । पुस्तिकामा सूचनाको चलखेल गर्ने उपद्रवी पात्रहरु, सूचनाको चलखेल गर्नुको उद्देश्य, सूचनाको चलखेलले पार्ने प्रभाव, सूचनाको चलखेल हुने माध्यमहरु, सूचनाको चलखेललाई न्यूनीकरण गर्न गर्न चाल्नु पर्ने कदम लगायतबारे उल्लेख छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चारका उपप्राध्यापक ऋषिकेश दाहालले नेपालमा गरिएको अनुसन्धानले इन्टरनेटको पहूँचसँगै जानीबुझीकन अरुलाई नोक्सानी पुर्याउने नियतले मिथ्या सूचना फैलाउने क्रम बढेको जानकारी दिनुभयो ।

इन्टरनेशनल फाउन्डेसन फर इलेक्सन सिस्टमका सिनियर कन्ट्रि डाइरेक्टर बासु मोहनले निर्वाचनका बेला विश्वव्यापी रुपमा सूचनाको चलखेल बढी हुने गरेको बताउँदै त्यसलाई न्यूनीकरणका लागि अन्तरदेशिय पहल आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको स्थानीय भाषामा उल्थाले सूचनाको चलखेल सम्बन्धी बहसलाई व्यापक बनाउन र निर्वाचनमा त्यस्ता चलखेलको प्रभाव कम गर्न सरोकारवालालाई प्रेरित गर्ने बताउनुभयो । सूचना चलखेलले लोकतान्त्रिक प्रक्रियामा पार्ने प्रभाव कम गर्न सबैको सामुहिक प्रयत्न जरुरी रहेको मोहनको भनाइ थियो ।

सिएमआर जर्नालिज एकाडेमीका निर्देशक उज्ज्वल आचार्यले सूचना चलखेल सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका प्रवृत्तिहरु नेपालमा पनि देखिएकाले स्रोत पुस्तिकाले सूचनाको चलखेल न्यूनीकरणका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

इन्टरनेशनल रिब्लिकन इस्टिच्यूटका सिनियर प्रोग्राम म्यानेजर युवराज आचार्यले निर्वाचनका बेला सूचना चलखेल बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयास जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले सूचना चलखेल र मिथ्या सूचनामा नेपालमा पनि चुनौतीका रुपमा देखा परेको बताएका थिए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक पाठकले नेपालमा सूचना चलखेलको न्यूनीकरणका लागि सेन्टरले फ्याक्ट चेकिङ, मिडिया तथा सूचना साक्षरता, तालिम, नीतिहरुमा बहस लगायत सञ्चालन गरेको जानकारी दिनुभयो ।