४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काभ्रेमा मिर्गौला तस्करी: रोकिएकै हो ?

काभ्रेमा मिर्गौला तस्करी: रोकिएकै हो ?
अ+ अ-

काभ्रेपलाञ्चोक । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गौला तस्करीका घटना बाहिर आएनन् । के अब काभ्रेपलाञ्चोकमा मिर्गौला तस्करी रोकिएकै हो ?

विसं २०७५ जेठ १० गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई तस्करले झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए । त्यसपछि जिल्लामा मिर्गौला तस्करहरु फेरि पनि सल्बलाएको आशङ्का गरियो । त्यसअघि विसं २०७१ फागुनमा नमोबुद्ध नपा–२ की दुई सन्तानकी एक ३५ वर्षीया गृहिणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्करमार्फत रु तीन लाखमा एउटा मिर्गौला बेचेको घटना बाहिरिएको थियो ।

घटनाक्रमका तथ्याङ्कले करिब दुई वर्ष १० महिनासम्मको अवधिमा मिर्गौला तस्करीको घटना घटेको पाइएन । घटना बाहिर नआएको पनि हुनसक्ने काभ्रेपलाञ्चोकमा मानव अङ्ग बेचबिखनविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनअधिकार संरक्षण मञ्च (पिपीआर)ले जनायो । “तस्करीका घटना बाहिर नआएको पनि हुनसक्छ, कोरोना सन्त्रासबीच मिर्गौला दिने र प्रत्यारोपणकर्ताको स्वास्थ्य संवेदनशीलताले नभएको पनि हुनसक्छ”, पिपीआरका निर्देशक शतिस शर्माले भन्नुभयो । उहाँका अनुसार सरोकारवाला निकायले यसबीचमा पनि मानव अङ्ग बेचविखनप्रति विशेष ध्यान दिनु जरुरी छ ।

घटना विवरणअनुसार काभे्रपलाञ्चोकको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २५ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एकै परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । त्यसयता मिर्गौला तस्करी फस्टाउँदै गएपछि केही वर्षको अनुसन्धानबाट काभे्रपलाञ्चोक प्रहरीले विसं २०७० वैशाखमा १० मिर्गौला तस्करलाई पक्रेर थप अनुसन्धानपछि सात जनालाई कानूनी कारवाही नै गरेको थियो ।

त्यसपछिका केही वर्षमा मिर्गौला झिकेपछि शल्यक्रिया गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका अर्थावस्था कमजोर भएका परिवारलाई मिर्गौला बिक्री गराउन तस्करले थप हौस्याएको तथ्यसमेत खुलेको थियो । त्यसअघि बिक्री गर्नेका मिर्गौला निकाल्दा पेटको बायाँतर्फ छदेखि आठ इन्चसम्मको टाँकाको खत देखिन्थे ।

दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेची छिमेकी र आफन्तले घृणा गर्ने डरले आफ्नो पीडा लुकाउँदै आएका जिल्लाका पुरुष पछिल्ला केही वर्षदेखि समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । भारतको दिल्लीमा नोकरीको लोभमा परी २१ वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नपा–२ का नवराज मिजारले भन्नुभयो, “हामी चिरेको पेट छोपेर नुहाउने गथ्र्यौँ, तर मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।” उहाँ जिल्लाको मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा मिर्गौला झिकेको खतसमेत देखाउने गर्नुहुन्छ ।

नवराज भन्नुहुन्छ, “मैले मिर्गौला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गर्थेँ, मिर्गौला बेचेको पैसा पनि सकेँ, जमिन पनि सकेँ, मैले रक्सी छाडेको पनि पाँच वर्ष भइसक्यो ।” उहाँलाई १५ वर्षअघि मिर्गौला बेच्नुभएका ज्याम्दीकै अर्का रामकुमार परियारले सहयोग गर्दै आउनुभएको छ । उहाँले आफूलाई पातलेखेतका विनोद परियारले जागिरको लोभ देखाई भारतको चण्डीगढ पुर्याएर मिर्गौला बेच्न बाध्य पारेको बताउँदै यसबाट आफ्नो जीवन नै खतरायुक्त भएको बताउहुन्छ । उहाँ भन्नुहुन्छ, “भनेको जति पैसा पनि दिएनन्, त्यो पैसाले केही गर्न पनि सकिनँ, तर अन्यलाई मिर्गौला बेच्दाको असरबारे भन्ने गर्दै आएको छु ।”

मिर्गौला बेचेका ज्याम्दीकै गणेश परियार र अमिक परिवारले गाउँमा दलाललाई प्रवेश निषेध गरिएको बताउनुभयो । उहाँहरुले अब ज्याम्दीबाट कसैलाई पनि मिर्गौला बेच्नेजस्तो घृणित काममा लाग्न नदिने प्रण गर्नुभएको छ । “हामी खुलेरै लागेका छौँ, अब कसैको जीवन बर्बाद हुन दिन्नौँ”, गणेशले भन्नुभयो । उहाँहरुले आफ्नो अभियानमा साथ दिन प्रहरी, प्रशासनसँग अनुरोधसमेत गर्दै आउनुभएको छ ।

मिर्गौला बिक्री गर्नेले नै खुलेर यसविरुद्ध लाग्नु र सरोकारवाला संस्थाको अभियानले मिर्गौला तस्करी रोकिएको ठानिएको छ । पिपीआरका जिल्ला संयोजक कृष्णप्यारी कर्मी भन्नहुन्छ, “मिर्गौला बेचेपछि हुने गम्भीर शारीरिक समस्याबारे जानकारी दिएपछि पिडितहरु आफैँ चेतनामूलक अभियानमा लाग्नुभएको छ, यो निकै खुशीको अवस्था हो ।” पिपीआरको केही वर्षअघिको अध्ययन प्रतिवेदनमा पाँचखाल नगरअन्तर्गत होक्सेबाट ११२, पाँचखालबाट १०२ तथा मण्डनदेउपुर नगरको ज्याम्दीबाट ५६ ले आफ्नो शरीरको एउटा मिर्गौला बिक्री गरेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

कानूनमा मिर्गौला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ । गैरकानूनीरूपमा मिर्गौला बिक्री गराए मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई देखि पाँच लाखसम्म जरिवाना र सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ । रासस