• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेपालले सहभागिता जनाउने टि-२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो



काठमाडौँ । नेपालले सहभागिता जनाउने आइसिसी टि-२० विश्वकप २०२४ खेल्ने सबै टुङ्गो लागेको छ । अफ्रिका छनोटबाट नामिबिया र युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने २० टोलीको टुङ्गो लागेको हो ।

विश्वकप २०२४ अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा जुन ४ देखी ३० सम्म आयोजना गर्नेछन् । अघिल्लो टी-२० विश्वकप तालिकाको माथिल्लो आठ स्थानमा रहने टोलीले भने स्वत: सन् २०२४ को विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । सोही प्रावधान अनुरुप अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका विश्वकपमा छनोट भइसकेका छन् ।

यसैगरी आईसीसी टी-२० वरीयतामा माथिल्लो स्थानमा रहेका आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भइसकेका छन् । यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन् ।

पूर्वी एसिया—प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ । अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ । एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् । अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन् ।

यसअघि टि-२० विश्वकपमा १६ टोलीले खेल्दै आएका थिए । २० टोलीलाई चार समूहमा विभाजन गर्नेछ । हरेक समूहमा पाँच टोली हुनेछन् । नेपालले कोसँग खेल्छ समूह विभाजनपछि मात्रै थाहा हुनेछ ।

समूह चरणबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।