• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बागलुङमा बढ्यो भोटे कुकुरको माग



ढोरपाटन । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर

साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन् । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको छ ।

निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर बिक्री हुने गरेको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडाँै, बागलुङ, धरानलगायत मुख्य सहरमा यहाँबाट कुकुर लैजाने गरेको पाइन्छ । ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका–९ पाखाथरका ज्ञानबहादुर विकले बताउनुभयो । कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई/तीन महिना नहुँदै किनेर लैजाने गरेको उहाँको भनाइ थियो ।

ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ । पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको उल्लेख गर्दै स्थानीयवासी विकले एउटै माउ भोटे कुकुरका लागि रु ५५ हजारदेखि रु ६० हजारसम्म पर्ने गरेको र तीनका बच्चा रु दस हजारसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । बजारका कुकुरले भन्दा भोटे कुकुरले जङ्गलीजन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यसवर्ष आफूले चार वटा बच्चा बेचेकोे उहाँको भनाइ थियो ।

“पहिले गाउँमा कुकुर फालाफाल हुन्थे, एउटै घरमा चार/पाँच वटासम्म कुकुर पनि पालिन्थ्यो तर अहिले गाउँ घरमा कुकुर पाल्ने चलन कम भए पनि बजारमा भने पाल्नेको सङ्ख्या बढी छ । पाँच वर्ष अगाडिसम्म कुकुर बिक्री हुन्छभन्दा अचम्म लाग्थ्यो, अहिले घरबाटै कुकुर बिक्री हुन्छन्” विकले भन्नुभयो– “गाउँका केही मान्छेले एउटै कुकुरको मूल्य रु ६० हजारसम्म लिए यहाँका कुकुर बजारका जस्तो हुँदैन्, लेकमा बसेका, लेकाली हावापानीमा हुर्केको हुँदा बलिया र घरको सुरक्षा गर्न सक्ने भएकाले बजार क्षेत्रबाट आउने धेरैजसोले स्याउ र आलुभन्दा कुकुर किनेर लाग्छन् ।”

निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आवद्ध छन् । उनीहरु लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन् । गोठको छेउमै बाँधिएका कुकुरले पशुचौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले बताउनुभयो ।

कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत पचासवर्षदेखि अहिलेसम्म करिब दस वटा कुकुर पालिसकेको उहाँले सुनाउनुभयो । पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ थियो।

पहिले–पहिले कुकुर पाल्न रहर हुनेले नि:शुल्क नै लैजाने गरे पनि अहिले बिक्री हुन थालेकाले अघिल्लो वर्ष सात वटा र यसवर्ष तीन वटा कुकुर बेचेको उहाँले बताउनुभयो । भोटे कुकुर अन्य जातभन्दा ठूलो, साहसिलो हुने र घरपालुवा जनावरसँगै गोठमा बस्ने भएकाले धेरैले मन पराउने गरेको सिर्पालीको भनइ थियो ।

विकले भन्नुभयो, “बजारमा पाइने, बेलायती जात भन्छन्, अरु केके जातका थुप्रै कुकुर हुँदा रैछन्, तर ती कुकुरभन्दा भोटे कुकुरको आयु पनि धेरै हुन्छ, जहाँ पनि बस्नसक्ने गुण भएकाले अहिले त बजारबाट आएका मान्छेहरु मेरो गोठमै आएर कुकुर लग्छन्, कोहीले त अर्को पटक ब्यायो भने मलाई राखिदिनु है भनेर पहिले नै माग गर्ने भएकाले अहिले त कुकुर पुर्‍याउनै गाह्रो पर्छ ।”

एकान्त घर, धेरै पशुचौपाया, फार्मजस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सोखका लागि भन्दै सहर बजारमा समेत लैजाने गरिएको छ । निसीखोलाको भल्कोट, सीप, पातीहाल्ने, ढोरपाटनको पाखाथर, छेन्तुङ, बोबाङ र अधिकारीचौर क्षेत्रमा बढी कुकुर पाल्ने गरिन्छ । रासस