• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

तिहारमा मौसम सफा रहने



फाईल फोटो

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बाँदल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।”

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तापक्रम घट्दै: चिसो बढ्दै

पछिल्ला दिनमा क्रमिकरुपमा तापक्रम घट्दै गएकाले आगामी दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । “तापक्रम क्रमिक रुपमा घट्दै गएको छ । चिसो बढिरहेको छ”, मौसमविद् अधिकारीले भन्नुभयो ।

तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । रासस