• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

क्रिकेट विश्वकप: उपाधि दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३को ३२औँ खेलमा आज उपाधिका दुई दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन् । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित अंकतालिकाको दोस्रो स्थानमा छ । यस्तै, न्युजिल्यान्ड पनि ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका आज विजयी भएमा शीर्षस्थानमा उक्लिनेछ । भारत ६ खेलमा अपराजित रहदै १२ अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा सेमिफाइनल सम्भावना बनाउने सोचमा हुनेछ ।

जारी विश्वकपमा दुबै टोलीले सानदार ब्याटिङ प्रदर्शन गरिरहेकाछन् । त्यसैले आजको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

न्युजिल्यान्डका युवा ब्याटर रचिन रविन्द्रले पछिल्लो खेलमा अष्ट्रेलियाविरुद्ध १ सय १६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । ओपनिङ खेलमा इंग्ल्यान्डविरुद्ध पनि रचिनले १ सय २३ रन बनाएका थिए । यस विश्वकपमा रचिनले ४ सय ६ रन बनाई सकेका छन् । न्युजिल्यान्डका डर्याल मिचेलले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ६ खेलमा ३ सय २२ रन बनाएका छन् ।

यता, दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले पनि तीन शतकसहित ४ सय ३१ रन बनाइसकेका छन् । यस्तै, युवा ब्याटर एडेन माक्ररम, हेनरिक क्लासेन र रास्सी भानर डर डुसेन दक्षिण अफ्रिकाको भरपर्दा ब्याटर हुन् । माक्ररमले श्रीलंकाविरुद्ध ४९ बलमै शतक हानेका थिए ।

बलरतर्फ न्युजिल्यान्डमा ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र म्याट हेनरी तीव्र गतिका विश्वस्तरिय बलर छन् । उता दक्षिण अफ्रिकामा पनि कागिसो रबाडा, लुन्गी एनगिडी, मार्को यानसन र जेराल्ड कोट्जी रहेका छन् ।

हेड-टु-हेड

विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच हालसम्म ८ खेल भएको छ । जसमा न्युजिल्यान्डले ६ खेल जितेको छ भने दक्षिण अफ्रिका २ खेलमा विजयी भएको छ । न्युजिल्यान्डले १९९९ को विश्व कपपछि दक्षिण अफ्रिकासँग हारेको छैन ।

न्युजिल्यान्डको सम्भावित प्लेईङ ११:

डेभन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान), ग्लेन फिलिप्स, जिमी नीशम, मिचेल स्यान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट, लोकी फर्ग्युसन ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेईङ ११:

टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक, रसी भान डेर डुसेन, एडेन मार्कराम, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज, जेराल्ड कोएत्जी, लुंगी एनगिडी ।