• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति



पर्वत । मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उहाँको गुनासो छ ।

त्यसैगरी, कुश्मा वडा नं १ पाङको फाँट, वडा नंं ९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरुले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्‍याएको क्षतिबारे विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो ।

“हामी पनि अनुगमनमा पुगेका थियौ”, अधिकारीले भन्नुभयो, “धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठूलो क्षति हुन भने पाएन ।” क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताउनुभयो ।

जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहँेलपुर भइसकेको छ । कृषक दसँैको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रुपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस