७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण
अ+ अ-

रामपुर । रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्नुहुन्थ्यो । उहाँलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन ।

बैंकमा पालो पर्खेर रकम लिन उहाँले निकै समस्या झेल्नुपथ्र्यो । अहिले भने घण्टौँ समयसम्म बैंकमा पुगेर भत्ता बुझ्ने झन्झटबाट खाण मुक्त हुनुभएको छ । पाल्पाको रामपुर नगरपालिकाले गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि उहाँ औधी खुसी हुनुहुन्छ ।

“बैंकमा धेरै समय लगाएर पालो पर्खेर भत्ता बुझ्नुपर्ने, गाउँको बाटो गाडीमा आउनजान निकै समस्या, भत्ता बुझ्ने समय आएपछि बैंकसम्म कसरी पुग्ने भन्ने समस्याले निकै पिरोल्थ्यो, अब गाउँबाट भत्ता पाइने भएपछि हामी ज्येष्ठ नागरिकलाई आनन्द भयो”, उहाँले भन्नुभयो ।

आर्थिक अवस्था नाजुक भएका र शारीरिकरूपमा कमजोर बनेका नागरिकलाई गाडीमा धेरै रकम खर्चेर बैंकमा आवतजावत गर्न समस्या छ । वडा नं १ का स्थानीयले रामपुरको बेझाड बजारसम्म बैंकमा पुग्नमात्रै एकतर्फी रु दुई सयदेखि रु तीन सयसम्म गाडी भाडामा खर्चनुपर्छ ।

बैंकमा भत्ता बुझ्न जान भनेको समयमा गाडी नपाउनु, पानी परेका समय गाउँका कच्ची सडक बन्द हुने, गाउँमा पाकापुस्ताको मात्रै बसोबास रहेकाले बैंकसम्म पुगेर भत्ता बुझ्ने कार्य ज्येष्ठ नागरिकलाई सास्ती छ । कतिपय परिवारमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी व्यक्तिलाई बैंकसम्म लैजाने आफन्त नहुँदा उनीहरूले अप्ठ्यारो परिस्थितिमा निकै कष्टसँग भत्ता बुझ्न विवश थिए ।

गाउँबाट भत्ता बुझ्न पाउने व्यवस्था रामपुर नगरपालिकाले गरेपछि स्थानीय सरकार साँच्चिकै जनताको सरकार रहेको अनुभूति भएको खगिसरा खाम्चा बताउनुहुन्छ । यसअघि भत्ता बुझ्न पाउँदाको खुसीभन्दा पनि कसरी बैंकसम्म पुगेर घर फर्कने भन्ने पिरोल्ने गरेको खाम्चाको भनाइ छ ।

जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले उनीहरूलाई आफ्नै गाउँठाउँबाट सेवा दिने उद्देश्यले गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “नगरपालिकाको दूरदराजमा रहेका नागरिकलाई भत्ता बुझ्न आवतजावत गर्न सहज बनाउन नगरको केन्द्रदेखिका टाढाका वडामा गाउँबस्तीबाटै भत्ता वितरण थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाका पायक पर्ने स्थानमा नगर सरकारले भत्ता वितरण सुरु गरेको छ ।”

नगरको वडा नं १ को चार स्थानबाट भत्ता वितरण भइरहेको छ भने दसैँअगावै वडा नं १० मा पनि गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरणको काम सक्ने, दसैँ पछाडि वडा नं ९ मा वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालपोषण भत्ता गाउँबाटै बुझ्न पाउँदा स्थानीय उत्साहित छन् । नगरपालिकाले वडा–वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि कृषि विकास बैंक शाखा कार्यालय रामपुरसँग सम्झौता गरी गाउँबस्तीमा कर्मचारी खटाएर काम गरिरहेको रामपुर–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कपिलबहादुर खाणले बताउनुभयो । भत्ता वितरण गर्नुअघि कृषि विकास बैंक रामपुर शाखाले वडाका विभिन्न टोलबस्तीमा पुगेर बैंक खाता खोल्ने काम सम्पन्न भएपछि मात्रै भत्ता वितरणको काम सुरु भएको हो । नगरपालिकाले बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट यस अभियानको थालनी गरेको छ ।

जनताको घरदैलोमै सरकारको अनुभूति दिलाउन रामपुर नगरपालिकाले गरिब, विपन्न परिवारलाई घरमै पुगेर नि:शुल्क स्वास्थ्य बीमा, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुर वर्गको सुरक्षालाई मध्यनजर गर्दै मजदुर दुर्घटना बीमा, ज्येष्ठ नागरिक सम्मान, घर–घरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, घरपरिवार, श्रीमान्को हिंसामा परेका महिलालाई राहतलगायतका विभिन्न सामाजिक कार्यमा जोड दिएर काम गरेको छ । रामपुर नगरपालिकाले पाल्पाका १० स्थानीय तहमध्ये भिन्न तरिकाले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका सामाजिक कार्यका गतिविधि अगाडि बढाएको छ । रासस