९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलामा ‘दशहरा’को रमझम सुरु



अ+ अ-

महोत्तरी । असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुुरु भएसँगै चहलपहल बढेको छ ।

आज असोज शुक्ल प्रतिपदाका दिन शारदीय नवरात्र (दशहरा)को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून बज्न थालेका छन् । मिथिलामा बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिलाक्षेत्र देवी भजनले गुञ्जायमान बनेको छ ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ । शास्त्रीय विधानमा भिन्नभिन्न ऋतुका दुई नवरात्र उल्लेख भए पनि शारदीय नवरात्र नै मुख्य ‘दशहरा’ मानिदै आइएको छ ।

“शास्त्रीय विधानमा दुवै नवरात्रको उत्तिकै महिमा र समान पूजाविधिको व्यवस्था छ, तर मिथिलामा उल्लास र उत्सवको पक्षबाट सधैँ शारदीय नवरात्र नै मुख्य रहँदै आएको छ”, मिथिला लोकपरम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्नुहुन्छ, “शारदीय नवरात्रमा झिझिया नृत्य र ढोल बज्ने परम्परा मिथिलाका खास विशिष्ट हुन् ।” यद्यपि पछिल्ला केही दशकयता ‘दशहाराके ढोल’ र भिझिया नृत्य परम्परा हराउँदै गएको झाको ठम्याइ छ ।

शारदीय नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजन गरिएका छन् । कन्या कुमारीहरू ९अविवाहित किशोरी०ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् ।

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि हिजो शनिबार मध्यरातअघि ९गएराति १०:५३ मिनटदेखि० नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज मध्याह्नपूर्व ९साढे ११ बजेअघि, ठीक साइत ११:२९ मिनेटको समय०भित्र घटस्थापना गर्न उत्तम हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधार दिँदै झाले बताउनुभयो । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा शुभमुहुर्त पहिल्याउने परम्परा छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने छ ।

पर्वका अवसरमा मिथिलाका गाउँ/नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर ९परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको० र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजिन्छन् ।

नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घरपरिवारमा देवीको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशैँ प्रारम्भसँगै महोत्तरीका गाउँ/नगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्ती–बस्तीमा जसो देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमयरूपमा ‘दुर्गा मेला’ को आयोजना गरिँदै छ । नवरात्र अवधिमा क्रमश: देवी दुर्गाका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृको आराधना क्रमश: प्रतिपदा ९घटस्थापना०का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्व अवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गर्नुभएको देवीभागवत्मा वर्णित छ । यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने तथा सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत भइने हिन्दू मैथिल जनविश्वास छ । रासस