३० कार्तिक २०८१, शुक्रबार
,
Latest
बेडरुमसँग सम्बन्धित वास्तु दोषका कारण पति–पत्नीबीच झगडा बढ्न सक्छ ! नर्सरीबाट एक मौसममा रु डेढ लाख कमाइ सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ महानायक पद न मैले कहिल्यै दाबी गरेँ, न गर्नेछु – दीपकराज गिरी विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास नुवाकोटको माझिटारमा शीतभण्डार निर्माण छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आँखाको रोग ‘सापू’का बिरामी बढे



अ+ अ-

गण्डकी । पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ ।

“यस वर्षको पहिलो बिरामी पहिचान गत भदौ २४ गते भएको हो, गएको मङ्गलबारसम्ममा २६ जनामा सापू देखिएको छ”, अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा इलिया श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण विस्तारै बढ्दो क्रममा छ ।”

उहाँका अनुसार सो अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन् । सात महिनाको शिशुमासमेत उक्त रोेगको सङ्क्रमण देखिएको डा श्रेष्ठले बताउनुभयो ।

“सङ्क्रमणले आँखा जटिल अवस्थामा पुगेका बिरामीको पनि हामीले उपचार गरिरहेका छौँ, कोही निको भएर घर फर्किसक्नुभएको छ”, उहाँले भन्नुभयो, “बेलैमा उपचार भएमा यो रोग निको हुन्छ, नत्र दृष्टि नै गुम्ने खतरा रहन्छ ।”

वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापू’को सङ्क्रमण फैलने गरेको डा श्रेष्ठले उल्लेख गर्नुभयो । विशेष गरि असोजदेखि मङ्सिरसम्म ‘सापू’ले प्रकोपको रुप लिने गरेको उहाँको भनाइ छ । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापू’ रोग भेटिएको थियो ।

नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाउनुभएको थियो । बर्सेनि पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको हिमालय आँखा अस्पतालले जनाएको छ । बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट ‘सापू’ रोग लाग्ने गरेको डा श्रेष्ठले बताउनुभयो ।

“सापूको रोगको एकिन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौँ आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ”, उहाँले भन्नुभयो, “लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ, यो रोगबारे समुदायमा सचेतनाको जरुरी छ ।”

जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइँ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको चिकित्सक बताउँछन् । उक्त रोगबाट जोगिन स्वास्थ्य सजगता अपनाउनुपर्ने नेत्र सहायक गणेश महतोले बताउनुभयो । ‘सापू’को सङ्क्रण भएमा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको गेडी दुख्ने, दृष्टि क्षमता कमजोर हुने जस्ता लक्षण देखिने गरेको उहाँको भनाइ छ ।

“रातिमा धेरै उज्यालो बत्ती बालेर नसुत्ने, हात या कुनै माध्यमबाट सेतो पुतलीको सम्पर्कका नजाने, झुलभित्र सुत्ने गरेमा सापूको सङ्क्रमणबाट जोगिन सकिन्छ”, उहाँले भन्नुभयो, “सापूको शंकास्पद लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार सुरु गर्नुपर्छ ।” रासस