५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छः राष्ट्रपति

बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छः राष्ट्रपति
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताउनुभएको हो ।

उहाँले पौडी र घोडचडीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताउनुभयो । “पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पु¥याएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।” उहाँले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताउनुभयो ।

बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात ‘शोक न सुर्ता भोक न भकारी’को रहने गरेको स्मरण उहाँले गर्नुभयो । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भन्नुभयो ।

उहाँले अहिलेको बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भातपकाइ खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताउनुभयो ।

“हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कुर्ची बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरेँ, घरनजिकैको वरपिपलको चौतारीका ढुङ्गाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धुलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो”, उहाँले बाल्यकाल सम्झँदै भन्नुभयो ।

राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताउनुभयो । तर पनि अहिलेको आधुनिक समयमा बालबालिकाका लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उहाँले उनीहरूको सर्वाङ्गीण विकासका लागि सरकारले अझै धेरै काम गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिनुभयो ।

मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन् भन्ने कुरा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने यस वर्षको बाल दिवसको नाराले नै पुष्टि गरेको छ भन्दै उनीहरूले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिकलगायतका विविध समस्या रहे पनि बालबालिकाको संविधानप्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको बताउनुभयो ।

बालबालिकाका तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि हो र यसले जीवनभर सन्तोष दिन्छ भन्दै समृद्ध नेपाल तब हुन्छ जब बालबालिकाप्रति सचेत र सजग हुन्छौँ भन्नुभयो । उहाँले असीको दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । रासस