२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा भेटिए कालाजारका बिरामी



अ+ अ-

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा–५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिनुभयो । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उहाँले बताउनुभयो ।

“हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ । यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता र सचेतनाका कार्यक्रम अगाडि बढाएका छौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काल मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।”

कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको उहाँले बताउनुभयो । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । कालाजार देखिएका वृद्धको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी भइरहेको उहाँको भनाइ थियो ।

गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गर्नुका साथै सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

“पालिकामा कालाजारका बिरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ । बिरामी देखिएका क्षेत्रमा किटनाशक विषादी छर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “योसँगै परीक्षणको दायरा बढाएका छौँ । लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्नेछौँ ।”

पालिकाभित्र कालाजार देखिएपछि डब्लुएचओको सहयोगमा परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कालाजार देखिएका बिरामीलाई पालिकाले नि:शुल्क उपचारको व्यवस्था गर्ने उहाँको भनाइ थियो ।

तराईका जिल्लामा बढी मात्रामा कालाजारका बिरामी देखिए पनि यहाँको तल्लो भेगमा गर्मी बढी हुने भएकाले बिरामी फेला परेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताउनुभयो । रोकथाम तथा नियन्त्रणका लागि शाखाले पालिका तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम गरिरहेको उहाँले बताउनुभयो । रासस