• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा

ओझेलमा परेको रामजानकीको विवाह मण्डप बन्दै



जनकपुरधाम

महेन्द्रनगर । भगवान् रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका– १३ मनिमण्डपमा निर्माण थालिएको छ ।

तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीबीच भएको विवाह यसै मनिमण्डपमा भएको धार्मिक विश्वास छ । पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो विवाहमण्डप भव्य नयाँ स्वरुपमा बनाइँदै छ । मनिमण्डपको उत्तरतर्फ आकर्षक कलाकृतिसहितका भवन बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने गरी विवाह मण्डप बनाउन लागिएको छ ।

अहिले उक्त मण्डपमा रामजानकीको विवाहमा भएजस्तै सम्पूर्ण सामग्रीको व्यवस्था गर्न लागिएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभागको सङ्घीय आयोजना कार्यान्वयन इकाईले कूल रु १८ करोड १५ लाख २२ हजार नौ सय ७३मा निर्माण गर्न लागेको उक्त मण्डपको ठेक्का रविना कन्ट्रकशन प्राली ले अगामी मङ्सिर २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी पाएको थियो ।

उक्त मण्डपको हालसम्म करिव ७५ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भइरहेको उक्त कार्यालयका सूचना अधिकृत इञ्जिनीयर लक्ष्मण यादवले बताउनुभयो । हालसम्म रु १३ करोड ३५ लाख ३६ हजार छ सय खर्च भइसकेको मण्डप आसपास पौराणिकपन झल्किने गरी राजा जनकको दुई तले दरबार, २५ वटा विश्राम कक्ष, दुई वटा डायनिङ कक्ष, बरबधुको विश्रामका लागि एक धर्मशाला, एकवटा स्वयम्बर मण्डपसहित दुई वटा मण्डप र २१ वटा शैचालयलगायत संरचना निर्माण गरिने इञ्जिनीयर यादवले बताउनुभयो ।

यस विवाह मण्डपलाई पर्यटनको केन्द्र बनाउन र जनकपुरधामलाई पवित्र र धार्मिक वैवाहिक गन्तव्यका रुपमा विकास गराउन लागिएको वडा नं १३ का वडाध्यक्ष जतबहादुर राउतले बताउनुभयो ।

विभागबाट खटेका विशेषज्ञले डिजाइन गरेको सो विवाह मण्डपमा गुठी संस्थानले भौतिक संरचना निर्माणका लागि साँढे चार बिघा जग्गा उपलब्ध गराएको थियो ।‘डबल हाइट पब्लिक कोर्ट रूम’ पनि बन्दैछ जसमा ३० जना अटाउने छन् । मण्डप छेउमा प्रसाद र शृङ्गारका सामान बेच्न व्यापारिक भवन पनि बनाइएको छ ।

जानकी मन्दिरकै शैलीमा यी भवनको डोम र गुर्जा बनाउने सम्झौता रहेको र त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनु परेको, कोरोना सङ्क्रमणका बेला छ वटा गुर्जा बनाउन नौ महिना लागेकामा हाल धमाधम काम भइरहेको इञ्जिनीयर यादवले बताउनुभयो ।

प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङलगायत काम हुँदैछ । मार्बल लगाइँदै छ । फर्निचर, विद्युत् र पेन्टिङको काम भने बाँकी छ । अहिले सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दङ्ग छन् । आयोजना सम्पन्न हुनै लाग्दा अव देश विदेशबाट तीर्थालु आउने र व्यापार–व्यवसाय बढ्ने भएपछि बल्ल विकासको आशा पलाएको स्थानीयवासी विनोद साहले बताउनुभयो । जनकपुरधामको मुख्य बजारदेखि करिब तीन किलोमिटरको टाढा रहेको यो स्थानलाई राज्य र जनकपुरधामकै बजार क्षेत्रका साधुसन्तले अहिलेसम्म ओझेलमा पार्ने काम गरेको विवाह मणिमण्डप विकास समितिका अध्यक्ष नरायण राउतले गुनासो गर्नुभयो ।

विवाहा मण्डप निर्माण भएपछि नेपाल र भारतका साथै अन्य मुलुकबाट पनि दर्शनको लागि यात्रु आउने उहाँको भनाइ थियो । रासस