४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मनसुनी वर्षा सुस्तः मुलुकभर ६८ प्रतिशत रोपाइँ

मनसुनी वर्षा सुस्तः मुलुकभर ६८ प्रतिशत रोपाइँ
फाईल फोटो
अ+ अ-

काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । “अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ”, उहाँले भन्नुभयो । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उहाँको भनाइ छ ।

महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गर्नुभयो । “मनसुन वर्षा सरदर भन्दा केही कमजोर देखिएको छ । हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुदैन । तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुई÷तीन दिन वर्षा राम्ररी हुने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो ।

मनसुन कमजोर रहे पनि खण्डितरुपमा मुलुकभर वर्षा भइरहेको मौसमविद् लामिछानेको भनाइ छ । कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरि लम्पी स्कीन रोगका कारण गोरुको अभाव भई रोपाइँ थोरै प्रभावित भएको जानकारीमा आएको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ । मध्यतराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ ।

मनसुनी वर्षा ३७ प्रतिशत मात्रै
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । जुन सरदर वर्षाकै हाराहारीमा छ । पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ ।

यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो । नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो ।

यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

आजराति पनि सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा धेरै दिपायलमा ५१ र पोखरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा मात्र चार मिलिमिटर वर्षा मापन गरिएको छ । रासस