• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

नेपाली सेनाको संख्या: उदेश्य र यथार्थ !



फाईल फोटो

नेपाली सेनाको संख्या घटाएर त्यसबाट बचेको पैसाले देश बिकास गर्ने आकर्षक मोडल प्रस्तुत भएपछि केहिसमय यता सन्चार माध्यमहरुमा यो वहस तन्किरहेको छ ।

यसबारेमा नेपाली समाजमा पनि पक्ष र बिपक्षमा वहस भइरहेको छ । नेपाली सेनाको औचित्य र संख्याबारे संदिग्ध ढङ्गबाट गरिएको चर्चा यो पहिलो होइन । यसबारेमा छेडिएको वहस नौलो पनि होइन ।

यसबारेमा गरिने चर्चा र वहसमा प्रबेश गर्नुअघि, नेपाली सेनाको स्थापना, यसले गरेको काम, निर्वाह गर्दैे आएको भूमिका र नेपाली सेनाको उपस्थिति तथा सबलताबाट को कसको टाउको दुखाइको बिषय बनेको छ ? यसबारेमा अध्ययन गरिन आवस्यक छ ।

  • नेपाल निर्माणसंगै जन्मिएको नेपाली सेना

लिच्छविकालमा नेपाल ठूलो थियो । मध्यकालमा नेपाल स–साना राज्यमा बिभाजित भयो । विभाजित नेपाल, काठमाडौं उपत्यकाबाट पश्चिमतर्फको कर्णाली प्रश्रवणक्षेत्रमा २२, गण्डकी प्रश्रवणक्षेत्रमा २४, काठमाडौं उपत्यकामा ३, उपत्यकाबाट दक्षिणमा मकवानपुर र पूर्वतर्फ बिजयपुर र चौदण्डिसमेत मध्यकालमा हालको नेपाल सरहदको भूमिमा जम्मा ५२ स्वतन्त्र साना ठूला राज्य अस्तित्वमा थिए । यी मध्येको गण्डकी प्रश्रवणक्षेत्रको चौबिसे समूहमा पर्ने गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं.१८०१ असोज १५ मा तत्कालिन कान्तिपुरअधीनमा रहेको नुवाकोट बिजय गरेर नेपाल पुनःएकीकरणअभियानको श्रीगणेश गरेका थिए ।

माथिका ५२ राज्यमा धेरै–थोरै सेना थिए, राजा थिए । ती सबैले देश बिस्तारको आकांक्षा राख्दथे । तर नेपाल पुनःएकीकरणको सुरुवात पृथ्वीनारायण शाहबाट भयो र यो अभियान सफलतातर्फ अघि बढ्यो । वि.सं.१८१९ मा मकवानपुर बिजयपछि पृथ्वीनारायण शाहले पांँच स्थायी सैनिक कम्पनी – श्रीनाथ, बर्दवाणी, कालीबक्स, सबुज र पुरानोगोरख स्थापना गरे ।

झारा फौजको बलमा युद्ध लडिरहेका पृथ्वीनारायण शाहले वि.सं.१८२२ मा उपत्यकाको कीर्तिपुर हात पारे । कान्तिपुरका राजा जयप्रकाश मल्लको सहायताका लागि आउन लागेको भारतस्थित अंग्रेज सेनाका कप्तान किनलक नेतृत्वको आधुनिक हतियार र तालिमप्राप्त सेनालाइ वि.सं.१८२४ असोजमा सिन्धुलीगढीमा हराए । लगत्तै वि.सं.१८२५ मा कान्तिपुर र ललितपुर तथा १८२६ मा भक्तपुर बिजय गरेर कान्तिपुरलाई राजधानी बनाए । त्यसपछि नेपाल पुनःएकीकरण अभियानले स्पष्ट आकार लिन सफल भयो ।

उपत्यका बिजयपछि पृथ्वीनारायण शाहले पूर्वका बिजयपुर र चौदण्डि बिजय गरे । पृथ्वीनारायण शाहको राज्यकालमा उपत्यकाका तीन मल्ल राज्य, मकवानपुर तथा पूर्वका बिजयपुर र चौदण्डिसहित तीन सेन राज्य समेत ६ वटा स्वतन्त्र राज्यमात्र एकीकृत भएका हुन् । तर त्यो बिजय र पुनःएकीकरण नै आधुनिक नेपाल निर्माणको बलियो जग थियो । हालको नेपाली सेनाको जग पनि वहाँबाट स्थापित पांँच स्थायी सैनिक कम्पनी हुन् । उनीपछिका उत्तराधिकारीहरुले समयसमयमा आवस्यकताअनुसार थप सैनिक कम्पनी स्थापना गरेका हुन् ।

पृथ्वीनारायण शाहबाट स्थापना भएको नेपाली सेनाले राष्ट्र निर्माणको अभियानलाइ निरन्तरता दिएर पश्चिमतर्फ गण्डकी, कर्णाली र महाकालीपारि कुमाउँ, सिरमोर, देहरादुन, गढवाल जितेर नेपालको सिमाना चम्पा पु-याएको थियो । पश्चिमको शक्तिशाली राज्य कांगडाका सेनालाई नेपाली सेनाले युद्ध मैदानमा पटकपटक पराजित गर्न सफल भएको थियो । कांगडाका राजा संसार चन्दलाई नेपाली सेनाले उनको बलियो किल्लामा महिनौं कैद गरिदिएको थियो । किल्लाभित्र लुकेका राजा संसार चन्दले नेपाली सेनालाई झुक्याएर पन्जावका महाराजा रणजितसिंहसंग आत्मसमर्पणगरेपछि सिख सेनासंगको युद्धमा नेपाली सेनाले कांगडा दुर्ग पन्जावका महाराजा रणजितसिंहलाई सुम्पिएको थियो ।

त्यसपछि पनि नेपाली सेनाको अधीनमा कांगडापूर्वका गढवाल, कुमाउं, सिरमोर लगायतको बिशाल भुभाग थिए । वि.सं.१८७१–७३ मा नेपाल र अंग्रेजबीच भएको युद्धपछि नेपाली सेनाले महाकालीपारिको भूमि अंग्रेजलाइ छाडिदियो । तर त्यसअघि नेपाली सेनाले त्यसबेलाको संसारकै सबैभन्दा शक्तिशाली सैन्यबल भएको अंग्रेज सेनालाई २ वर्षसम्म युद्धभूमिमा आच्छुआच्छु पारेर, उसको सेनाका मेजर जनरल तहका उच्चसैनिक अधिकारीसहित ठूलो संख्याका अंग्रेज सैनिक क्षति पु¥याउन सफल भएको थियो । नेपाली सेनाले युद्धभूमीमा प्रदर्शन गरेको उच्चस्तरको वीरतापछि नेपाली/गोर्खाली जाति÷सेना संसारभर वीर जातिका रुपमा प्रख्यात भएको थियो ।

नेपाली सेनाले पश्चिमका ससाना राज्यका सेनासंग र अंग्रेजसेनासंग मात्र होइन, उत्तरको स्वतन्त्र छिमेकी राज्य तिव्वत र चीनका सेनासंग समेत पटकपटक युद्ध लडेको छ र बिजयी समेत भएको छ । यसप्रकार वर्तमान नेपालको विस्तारसँगसँगै नेपालको सैनिक सङ्गठनको सं“ख्या र सामथ्र्य पनि विस्तार हुंदै गएको हो । प्रारम्भमा पाँच स्थायी कम्पनीको स्थापनाबाट फैलिएको नेपाली सेना नेपालभूमिको विस्तारसंगै सबल र शक्तिशाली बनेको थियो । वि.सं.१८०१ देखि १८७२ सम्मको समयभित्र यहि नेपाली सेनाले विश्वमानचित्रमा सबल र शक्तिसम्पन्न स्वतन्त्र नेपाल राष्ट्र निर्माण गर्न सफल भयो र नेपाली सेनाको जग पनि मजबुत भयो ।

  • राणाकाल, विश्वयुद्ध र नेपाली सेना

वि.सं.१९०३ देखि वि.सं.२००७ सम्मको १०४ वर्ष नेपाली सेना श्री ३ हरुको नीजिसेवक बन्न विवश भयो । यस अवधिमा नेपाली सेनाको क्षमतामा समयसापेक्ष स्तरीकरण हुन नसकेको सत्य हो । तथापी त्यस कालखण्डभित्र  वि.सं.१९११–१२ मा नेपाली सेनाले तिव्वतसंग युद्ध लडेर नेपाललाई बिजय दिलाएको थियो भने सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहमा अंग्रेजको पक्षमा लडेर विद्रोह दबाउन सफल भएको थियो ।

साथै सन् १९१४–१८ को पहिलो र सन् १९३९–४५ को दोस्रो विश्वयुद्धमा अंग्रेजको पक्षबाट भाग लिएर नेपाल र नेपाली सेनालाई विश्वमा वीर जातिका रुपमा परिचित गराउन सफल भयो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानमा भएको हिन्दू मुस्लिम दङ्गामा खट्टिएर नेपाली सेनाले ठूलो मानवीय क्षति रोक्न सफल भयो । यसबाट नेपाली सेनाले स्वतन्त्र भारत र भारतभूमिका जनतालाई समेत ठुलै गुन लगाएको छ । यो कुरा नेपाल र नेपालीका लागि आजसम्मै गौरव गर्न योग्य पक्ष रहेको छ ।

  • वि.सं.२००७ को परिवर्तनपछि नेपाली सेना

वि.सं.२००७ को परिवर्तनपछि भारतको योजनामा नेपालका राजनीतिक दल र नेताको असक्षमताको कारण नेपाली सेनाको आधुनीकीकरणको बहानामा संख्या कटौति गरियो, त्यो दुःखद पक्ष थियो । छिमेकी भारत सरकार योजनाबद्धरुपमा नेपाली सेनाको संख्या कटौति गरेर नेपालको चीनसंगको सीमामा भारतीय सेना तैनाथ गर्न सफल भयो । नेपालमा राणा शासनको अन्त गर्न नेपाली राजनीतिक दल र नेतालाई दिएको सहयोग र समर्थनको आडमा नेपालको राष्ट्रिय सेनाको संख्या कटौति गर्ने रणनीतिमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु सफल भएका थिए ।

तर वि.सं.२०११ मा श्री ५ महेन्द्रवीरबिक्रम शाह राजा भएपछि भारतीय योजना परास्त गर्न सफल भए । श्री ५ महेन्द्रले, राजनीतिक दल र नेताहरु नेपालको भन्दा भारतको योजनामा, भारतीय हितमा सहयोगि हुने बुझेर वि.सं.२०१७ पुष १ गते कठोर राजनीतिक कदम चाले । देशमा ठुला उद्योगहरु स्थापना गरे र पुर्व–पश्चिम राजमार्ग बनाए । नेपालमा नेपाली मुद्रा चलाए । चीनसंगको नेपालको सीमामा तैनाथ गरिएका भारतीय सैनिक फिर्ता गर्न सफल भए । नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य बनाए । नेपाली सेनाको संख्याबृद्धि गरेर सेनालाई आधुनिक बनाउने प्रयास गरे ।

आज नेपाली सेना संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा विश्वमै सबैभन्दा धेरै संख्यामा सैनिक सहभागिता पु-याउनेमध्येको दोस्रोस्थानमा छ । यो पक्ष नेपालको सफ्टपावर हो अर्थात् सौम्यशक्ति हो । हरेक नेपालीले गौरव गरिन योग्य पक्ष हो । यसबाट नेपालमा ठुलो मात्रामा वैध रुपमा बिदेशी रकम आर्जन भइरहेको छ, जसबाट नेपालको अर्थतन्त्रमा समेत टेवा पुगेको छ । नेपाली सेनाको स्तरबृद्धिमा पनि सहयोग पुगिरहेको छ ।

नेपाली सेनाले विश्वमै दुर्लभ बन्यजन्तु, वनस्पति र प्राकृतिकपनको सुरक्षामा सक्रिय योगदान दिइरहेको छ । राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु आरक्ष सुरक्षामा नेपाली सेनाले गरेको योगदान विश्वमै प्रशंसनीय रहेको छ । अनेकौं प्राकृतिक बिपद्, कोभिड जस्ता बिश्वव्यापी महामारी, बाढिपहिरो आदिमा ज्यान जोखिममा राखेर नेपाली सेनाले पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म बसोवास गर्ने जनताको उद्धारमा उदाहरणीय सहयोग गरिरहेको छ ।

नेपाली सेनाले दुर्गम, अतिबिकट स्थानमा सडक निर्माण गरेर देश बिकासमा योगदान गरिरहेको छ । कतिपयले सेनाले सडक निर्माण गर्ने होइन भनी आलोचना गरिरहेको दृष्टान्त जगजाहेरै छ । तर नेपाली सेनाले सडक निर्माण गरिपाउ“ं भनी नेपाल सरकारका कुनै निकायमा निवेदन पेश गरेको छैन, टेण्डर प्रतिस्पर्धा गरेको छैन । सरकार र नीजि क्षेत्रबाट हुन नसक्ने अति संवेदनशील भुबनोट भएको स्थानको काम मात्र सरकारले नेपाली सेनालाई सुम्पिएको छ र सेनाले ती कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।

  • शासकीय भूमिका तटस्थ नेपाली सेना

नेपाली सेनाले राजनीतिक मामलामा आफुलाई तटस्थ राखेको छ । इतिहासदेखि नै नेपाली सेनाले सत्तापरिवर्तनमा हस्तक्षेप गरेको छैन । शासनब्यवस्था परिवर्तनमा अहस्तक्षेपको नीति लिएको छ । सरकारले दिएको संबैधानिक आदेशलाई शिरोपर गर्देै आएको छ । नेपाली सेना कुनै दल, वाद र ब्यक्तिको पक्षमा उभिएको छैन । जनताले चाहेको शासन ब्यवस्थालाई स्वीकार गरिआएको छ । जननिर्वाचित सरकारलाई साथ र सहयोग दिदै आएको छ ।

  • नेपाली सेनाको बिरोध र विवादमा ल्याउने प्रयासहरु

समयसमयमा आफुलाई समीक्षक, सुरक्षाविज्ञ, बुद्धिजिवी, अभियन्ता, राजनीतिक ब्यक्तित्वका रुपमा प्रस्तुत गर्नुहुनेहरु (सबै होइनन्) जो विदेशी प्रभावबाट प्रभावित ब्यक्तित्वहरु हुनुहुन्छ, वहांहरु लेखमार्फत या त संसदमा र बिभिन्न सन्चारमाध्यममार्फत नेपाली सेनाले छिमेकी देशसंग युद्ध लड्न नसक्ने कारण देखाएर सेनाको संख्या कटौतिको आकर्षक प्रस्ताव ल्याउने गर्दछन र वाहवाही पनि पाउने गर्दछन् । पाइरहेका पनि छन् ।

खासगरी नेपाली सेनाको बिरुद्धमा आउने यसप्रकारका प्रस्तावले नेपालका ठूला भनिएका राष्ट्रियस्तरका मिडियामा प्राथमिकताकासाथ राम्रो स्थान पाउंछन् । तर यसको ठिक बिपरित नेपाली सेनाको पक्षमा लेखिने, बोलिने र नेपाली सेनाबाट हुने, भइ आएका सकारात्मक कामहरु भने प्राथमिकता दिएरै पन्छाइन्छन् । यसबाट सहजै बुझ्न सकिन्छ: नेपाली सेनाबिरुद्ध नेपालभित्र पनि केहि पक्षहरु निरन्तर लागिरहेका छन् ।

नेपाली सेनाबिरुद्ध प्रहार हुन थालेको आजभोलि मात्र होइन, धेरै पहिलेदेखि नै हो, स्थापनादेखि नै हो । नेपालभित्र र बाहिर सबैतर्फबाट नेपाली सेनाबिरुद्ध निरन्तर अफवाह फैलाउने, बदनाम गर्ने गराउने, संकटमा पार्ने र अस्तित्व नामेट गराउने प्रयास भइरहेको छ । प्रारम्भमा नेपाल पुनःएकीकरणअभियानको चरणमा स्वतन्त्र रहन चाहने ससाना राज्यका शासक, सामन्त, राजारजौटा र ती बाट पालितपोषितहरु थिए ।

उनीहरुको त्यो प्रयास आफ्नो अस्तित्वरक्षा र रोजीरोटीका लागि पनि थियो । कालान्तरमा तिनको अस्तित्व नामेट भयो । पृथ्वीनारायण शाहले उपत्यका बिजयगरेपछि उपत्यकाबाट निकालिएका केहि संख्याका इसाइ पादरीहरुले सीमापारि बसेर, कीर्तिपुर बिजयका सिलसिलामा बिपक्षीको नाक काटेको भनी अफवाह फैलाएर पृथ्वीनारायण शाह र नेपाली सेनाको बदनाम गर्नथाले । उक्त झुटो दाबीबाट गर्न खोजिएको बदनामीको अफवाहलाइ नेपालमा बसोवास गरिरहेका कतिपयले जानेर नजानेर साथ दिए । यो झुटो अभियान अझै छिटपुटरुपमा जारी छ ।

उक्त विरोध र विवादसंगै नेपाली सेनाले कर्तव्यपालन गर्दा मानवअधिकार उल्लंघन गरेको आरोपमा यस सङ्गठनलाई विवादमा ल्याउने र बदनाम गर्ने काम निरन्तर भइरहेको छ । यसबाहेक नेपाल सरकारले सुम्पेको सडक निर्माण लगायतका आकस्मिक दायित्व निर्वाह गरेबापत सेनाले नियमितरुपमा आलोचना ब्यहोरिरहेको छ । यतिले नपुगेर, नेपाली सेनाको संख्या अधिक भएको र यस संस्थाको संख्या कटौति गरेर बचत हुने रकमबाट देश विकास गर्ने फरक मोडल जनमानसमा प्रस्तुत भएको छ ।

  • यताचाहिं वहस गर्ने की ?

केहि दिनअघि नेपाली सेनाको संख्या कटौति गरेर बचेको रकमले देशबिकास गर्ने नयां मोडल संसदमा पेश गरिएको थियो । जिम्मेवार सांसदबाट सम्मानित संसदमा प्रबेश पाएको यो बिषयले नेपाली मिडियामा राम्रै स्थान पाएको छ । नेपाल र नेपालीको अस्तित्वसंग जोडिएको नेपाली सेनाको संख्या र यसमा भइरहेको खर्च देश बिकासको लागि बाधक देख्नुहुने सम्मानित सांसदज्यूले मासिक राज्यकोषबाट प्रति सांसद एक लाखभन्दा अधिक सेवासुबिधा लिएबापत देशबिकासमा के कति योगदान गर्नुभयो र गरिरहनु भएको छ ? यसबारे आगामी दिनमा स्पष्ट पार्नुहुनेछ भन्ने अपेक्षा छ ।

यहाँनेर हेक्का राख्नैपर्ने कुरा, एकजना सांसदले राज्यकोषबाट लिने सेवासुबिधाबाट राज्यले १० जना भन्दा अधिक सैनिकको भरणपोषण गर्नसक्छ । नेपालका संघ र प्रदेशसमेतका ५०० सांसदसंख्या कटौति गरेमा पाँचहजार भन्दा धेरै सैनिकलाई भरणपोषण गर्नसकिन्छ । पांँचहजार नेपाली युवाले स्वदेशमा, नेपाली सेनामा रोजगार पाएमा कम्तीमा १५ हजार नेपालीको गांँस र वासको सुनिश्चितता हुन्छ । अर्थात् १५००० नेपाली बिदेसिन पर्ने छैन । यो प्रत्यक्षतः आम सचेत नेपालीले मनन गर्दै आएको सत्य हो, नेपालको संसद र मििडयामा यसबारेमा वहस नै सुरु भएको छैन ।

नेपाली राज्यकोषबाट राजनीतिक नेतृत्व एवम् उनीहरुका नजिककाले र सरकारी उच्चतहका अधिकारीहरुले मनमौजी ऐन तर्जुमा गरेर लिइरहेको उच्चतम सेवासुबिधामध्ये बिदेशबाट खरिद गरिएका महंगा सवारीसाधन तथा त्यसकालागि खटाइएका चालक र इन्धनखर्च मात्र कटाएर इमान्दारीपूर्वक सो रकम कृषि र पशुपालनमा लगानी गरिएमा वार्षिक खर्व नेपाली रुपैंया बराबरको खाद्यान्न बिदेशबाट आयात कम हुनेछ । यसबाट कम्तीमा १० लाख नेपालीलाई स्वदेशमा रोजगारीको अवसर सृजना हुनेछ । यसतर्फ नेपालको संसदमा चर्चा र वहष किन हुंदैन ?

राष्ट्रिय ढुकुटीको अनधिकृत दोहनमा आँंखा चिम्लिरहेको राजनीतिक वृत्तको अकर्मण्यता र असक्षमताको दोष राष्ट्रिय सेनातर्फ मोड्नु दुःखद त छंदैछ, राष्ट्रिय हितका पक्षबाट आपत्तिजनक पनि छ । नेपाली सेनाको रगत र पसिनाबाट निर्माण भएको यस राष्ट्रको ढुकुटीबाट मासिक भरणपोषण पाइरहनु भएका जिम्मेवार ब्यक्तित्वबाट यहि सेनाको संख्या र अस्तित्वमाथि प्रकट भएको उक्त आपत्तिजनक अभिव्यक्ति नेपालको इतिहासमा र स्वाभिमानी नेपालीजनका स्मृतिमा नकारात्मक रुपमा दर्ज हुने कुरा निश्चित छ ।

नेपाल भूमिमा बसोवास गरिरहेका, दुर्गम जिल्लाका, दुर दराजका युवाले राष्ट्र सेवा गरेबापत लिने न्युन वेतन र सेवासुबिधाप्रति असल नागरिकबाट वैरभाव राखिनु सुहाउने विषय हुनसक्दैन । यसमाथि, राष्ट्रिय सेनाको संख्याको औचित्यमाथि राष्ट्रको नीति निर्माणका लागि जनताबाट निर्वाचित÷मनोनित बिशिष्टतहका ब्यक्तित्वबाट प्रश्न उठाइनु र सम्भावित युद्धका लागि राष्ट्रिय सेनालाई सार्वभौम संसदमा असक्षम सावित गर्ने हठात् प्रयास गरिनु, स्पष्टत राजकीय अपराध ठहर गरिन योग्य छ । राष्ट्रिय सुरक्षाको दायित्व वहन गरिरहेको राष्ट्रिय सेनाको स्वरुपलाई गलत ढङ्गबाट ब्याख्या गरिनुलाई कदापी पनि सकारात्मक रुपमा लिन सकिंदैन । कतिपय देशमा यसप्रकारको अभिब्यक्ति ठूलै अपराध हुनसक्छ । अफसोच ! नेपालमा वाहवाही भयो ।

कुनैपनि राष्ट्रको अर्ततन्त्र सुरक्षित वाताबरणमा मात्र फष्टाउन सक्छ । सुरक्षाको भरपर्दाे वाताबरणमा मात्र लगानी र उत्पादन बढ्न सक्छ भन्ने शास्वतसत्यबाट विद्यावारिधिप्राप्त बिशिष्टजनहरु अनभिज्ञ पक्कै छैनन् । विज्ञ मानिएका बिशिष्टजनबाट नै यथार्थबाहिरको अभिब्यक्ति प्रकट हुनु कतै राष्ट्रको भन्दा अन्यत्रको स्वार्थ प्रकट हुनु त होइन ? अन्यथा नलिनुहोला महाशय, यहाँनेर शंकाको सुबिधा लिन सकिने प्रशस्त ठाउँ छ ।

  • अन्तमा

आजभन्दा दुई सय अण्ठाउन्न वर्षअघि नेपाली सेनाबाट कीर्तिपुर बिजय हुँदा स्थानीयको नाक काटेको झुटा अफवाहलाई नेपाली सेनासँग जोड्नेहरु र नेपाली सेनाको संख्या र औचित्यमाथि हिजोआज औंला उठाउनेहरु, नेपाली सेनाको सुरक्षा आवरणभित्र सुरक्षित रहेर, नेपाली सेनाको उपस्थितिमाथि प्रश्न गरिरहेका देखिन्छन् । यस्ता पात्र अरु पनि धेरै छन् । उनीहरु नेपालभित्रै चोक, गल्ली र चिया पसलहरुमा नेपाल–निर्माणको औचित्यमाथि नै प्रश्न गरिरहेका भेटिन्छन ।

मैले सैनिक सेवामा रहदां र सैनिक सेवाबाट निवृत्तभएपछिका दिनमा यस्ता प्रश्न र दुर्भावना बोकेका कथित बौद्धिकहरुसंग थुप्रैपटक जम्काभेट गरेको छु र सवालजवाफ गरेको छु । कैयौंपटक त ज्यू–ज्यानको धम्कीको सामना गरेको छु, यो अझै छ । विश्वमानचित्रमा स्वतन्त्र, सबल राष्ट्रनिर्माणको औचित्यमाथि प्रश्न गर्ने र राष्ट्रनिर्मातामाथि झुटा अफवाह फैलाएर दुर्भावना ओकल्ने नीचस्तरको भ्रष्ट संस्कृति सायद संसारभरिमा, नेपालबाहेक अन्यत्र कहिं कतै छैन ।

यो स्तरको दुर्भावनाको प्रचारप्रसार गर्ने छुट स्वतन्त्रताको आडमा सम्भवत नेपालमा मात्र छ । यहि र यस्तैप्रकारको दुर्भावनाका अंशियारहरु समयसमयमा आफूभित्रको विकृत भाइरस ओकल्न प्रयास गर्दछन र त्यहि भाइरस यत्रतत्र फैलन्छ । भाइरसका अंशियारहरुले त्यस दुर्भावनालाई साथ दिन्छन र अंकमाल गर्दछन । यो कुरा नौलो होइन, राष्ट्रसेवकले यी दुर्भावनालाई नौलो मानिरहनु पर्दैन ।

माथिको चर्चाबाट स्पष्ट हुन्छ – नेपाली सेनाको स्थापना, काम र निरन्तरता केहिका लागि सुरुवातदेखि नै टाउको दुखाइ बनेको थियो र अझै बनिरहेको सङ्केत प्रशस्त छन् । स्थापनादेखि हालसम्म स्वतन्त्र र सार्वभौम राष्ट्रको अस्तित्वरक्षाका लागि प्रयासरत नेपाली सेना, देशभित्रका हरेक परिवर्तनको साक्षी बनिरहेको छ र एकता, अखण्डता, स्थिरता एवम् बिकासको पक्षमा दृढसंकल्पित छ ।

नेपाली सेनाको दृढसंकल्प विभाजन चाहने, अस्थिरता चाहने र धमिलो पानीमा माछा मार्न इच्छा राख्नेहरुका लागि बाधक बनिरहेको प्रष्ट छ । फरक यत्ति हो नेपाली सेनाको उपस्थितिबाट बाधा महसुस गर्ने पात्रहरु समयसंगै फरक छन्, बदलिइरहेका छन् । समय, नाम, थर, पद, भूमिका र पात्रहरु बदलिन्छन् तर भोलिका दिनमा पनि यसप्रकारका वहष बल्झीरहनेचाहिं निश्चित छ ।

नेपाली सेनाको दृढसंकल्पलाई बाधा महसुस गर्नेहरुबाट नेपाली सेनाको संख्या कटौतिको रहष्यमय योजना सकेसम्म आकर्षकरुपमा प्रस्तुत गर्नु र उद्देस्य मिल्नेहरुबाट साथ, समर्थन र वाहवाही प्राप्त हुनु नौलो कुरा होइन । अन्य देशमा यसप्रकारको अभिव्यक्ति राष्ट्रद्रोहको अपराध ठहर हुन्छ, कतिपय देशमा भइरहेको पनि छ । तर नेपालमा पुरष्कृत भएछ भने अन्यथा नमानौं, कुनैदिन हुन पनि सक्छ । राष्ट्रसेवकको लागि दुःखको कुरा ! यदि पुरष्कृत भएछ भने संसारमै यो चाहिं नौलो हुनेछ ।