१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

साबुन उत्पादनमा रामपुरका महिलाको सक्रियता बढ्दो

साबुन उत्पादनमा रामपुरका महिलाको सक्रियता बढ्दो
अ अ+ अ-

पाल्पा । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ ।

नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् । हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन । घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ । बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहनुभएको छ ।

रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन् । साबुन बनाउने छ दिनको तालिम नगरपालिकाले दिएपश्चात समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष सीता घर्ती बताउनुहुन्छ । “स्थानीय उत्पादन भएकाले गाउँघरकै ग्राहकले खरिद गरिरहनुभएको छ, गाउँमा राम्रै खपत भइरहेको छ”, उहाँले भन्नुभयो ।

हाललाई गाउँघरमा हुने विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठी, बजार जाँदा साथमै बोकेर साबुन लिएर जाने र व्यक्ति–व्यक्तिलाई साबुन बेच्ने गरिरहेको अध्यक्ष घर्तीले बताउनुभयो । गत असारमा छ दिनसम्म साबुन बनाउने तालिम लिएपश्चात साउनदेखि नै व्यावसायिक उत्पादन सुरु गरिएको हो । भदौमा रामपुर नगरपालिकामा ‘अग्र्यानिक साबुन उद्योग’ नाममा संस्था दर्ता गरी साबुन बनाउन थालिएको अध्यक्ष घर्तीले बताउनुभयो ।

हालसम्म एक हजार थानभन्दा बढी साबुन उत्पादन गरी बिक्री गरिएको छ । तालिममा सहभागीलाई नगरपालिकाले साबुन बनाउने सामग्री, कच्चा पदार्थ पेल्ने उपकरणलगायत उपलब्ध गराएपछि तालिमलगत्तै साबुन बनाउन महिलाले सुरु गरेका हुन् । निम, कागती, पाती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह आदिबाट साबुन तयार पारिएको सरिता खड्काले बताउनुभयो । गाउँघरमा प्रशस्त मात्रामा पाइने कच्चा पदार्थबाट साबुन तयार पार्न सहज भएको छ । कच्चा पदार्थ तयार रहेको खण्डमा आधा घण्टादेखि बढीमा एक घण्टाको अवधिमा प्रयोग गर्न मिल्ने गरी साबुन तयार हुने गर्दछ ।

साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरुसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच राधा खण्डलुकले राख्नुभएको छ । यहाँ उत्पादन भएको साबुन हाल प्रतिथान रु ९० मा बिक्री भइरहेको छ । समूहमा उत्पादन भएको साबुनबाट आर्जन गरेको खर्चले उद्योगमा नै लगानी गरिरहेको र उत्पादन गरेको साबुन बिक्री गर्दा खर्च चलाउन सजिलो भएको केशमाया राउत बताउनुहुन्छ ।

“हातमा सीप नहँुदा महिला पछाडि परियो, अहिले रामपुर नगरपालिकाले सीप दिएपछि हामीमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको छ, कच्चा पदार्थमा लगानी गर्न नपरेपछि राम्रै फाइदा हुने देखिएको छ”, उहाँले भन्नुभयो । यहाँका छ महिलाले प्रतिव्यक्ति रु पाँच सयका दरले रकम उठाएर उद्योग सुरु गरेका हुन् । अहिले उनीहरुले साबुन बिक्रीबाट आर्जन गरेको रकम उद्योगमै लगानी गरिरहेका छन् ।

साबुन बनाउन आवश्यक पर्ने बेस तेल खरिद महँगो पर्ने र रामपुरमै उपलब्ध नहुँदा बाहिरबाट ल्याएर बनाउँदा कहिलेकाहीँ तेल अभावमा बनाउन समस्या पर्ने गरेको छ । प्रतिकिलो रु पाँच सय ५० मा पोखरा, दुलेगौडा बजारबाट ल्याउनुपर्दा केही आम्दानीको रकम ढुवानीमा खर्चनुपरेको छ ।

प्याकेजिङ मेसिनको आवश्यकता छ । गाउँका महिलाको आयस्रोत नहुँदा उद्योगमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन । अनुदान र सामग्री सहयोग पाए उत्पादन बढाउने सोच छ । नुहाउने साबुनका साथै लुगा धुने साबुन बनाउने तालिमको आवश्यकता भएको राउत बताउनुहुन्छ ।

रामपुर नगरपालिका–२ का वडाध्यक्ष कृष्ण दर्जीले यस वर्ष वडामा महिलालाई साबुन बनाउने सीप विकास तालिम आयोजना गरिएको र अर्को वर्ष व्यावसायिक साबुन उत्पादन गर्न बजेट विनियोजन गर्ने बताउनुभयो । तालिममा सहभागी अधिकांश महिला साबुन बनाउन थालेका छन् । महिलालाई व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत पुर्नताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ ।

महिला सशक्तीकरण र आर्थिक क्षेत्रमा उनीहरूलाई अब्बल बनाउन नगरपालिकाले सीपमूलक कार्यक्रममा लगानी गरिरहेको र लगानीअनुसार उपलब्धि राम्रै भइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “नगरपालिकाभित्र उत्पादन भएका सामग्री बजारीकरण गर्न सहयोग गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “धेरै उत्पादन भए बजारीकरण गर्न सहज हुनेछ, उत्पादित सामग्री नगरले व्यवस्थापन गर्छ ।”

गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नं १ मा २० महिलालाई झोल साबुन उत्पादन र वडा नं ९ मा २० जनालाई चप्पल बनाउने तालिम प्रदान गरिएको छ । अघिल्ला आर्थिक वर्षमा वडा नं २ मा २५ जनालाई नुहाउने साबुन, वडा नं ३ मा १० जनालाई सिलाइकटाइ, वडा नं ३ र ४ वडाका २० जनालाई संयुक्तरूपमा दुनाटपरी, वडा नं ५ मा १० जनालाई ढाका बुनाइ, वडा नं ६ मा ३० जनालाई आलु चिप्स, वडा नं ७ मा ११ जनालाई पशुपालन, कृषि, वडा नं ८ मा १८ जनालाई सरफ, वडा नं ९ मा चप्पल बनाउने तालिम सञ्चालन भइसकेको छ भने वडा नं १० मा कार्यक्रम हुन बाँकी छ ।

आव २०७७/७८ देखि रामपुर नगरपालिकाभित्र सुरु भएको यस कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सम्पन्न भइसकेका छन् । यस कार्यक्रमअन्तर्गत उद्यमी बनाउन छ चरणमा कार्यक्रम चलाइएको छ । सामाजिक परिचालन, उद्यमशीलता ९व्यवसायसम्बन्धी ज्ञान, सीप दिने०, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरण छन् । कार्यक्रम लागू भएदेखि हालसम्म सामाजिक परिचालन, उद्यमशीलता, सीप विकास तालिम कार्यक्रम सम्पन्न भइसकेका छन् भने प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरणको कार्यक्रम गर्न बाँकी छ ।

चालु आवमा गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारबाट रु ३५ लाख बजेट प्राप्त भएको छ । सो बजेटमध्ये रु २३ लाख ८० हजार नयाँ लघुउद्यमी सिर्जना, रु छ लाख २० हजार स्तरोन्नति, उद्यमीघर तयार पार्न रु पाँच लाख बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको उद्यम विकास सहजकर्ता रुपबहादुर सिंजालीले जानकारी दिनुभयो । रासस