१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट



अ+ अ-

तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।

तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो ।

अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । रासस




भर्खरै