• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट



तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।

तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो ।

अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । रासस