• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

देउवालाई गगनको चुनौती



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । समग्र निर्वाचनको परिणाम आइसकेको छैन । निर्वाचन नतिजा नआएसम्म आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे प्रष्ट हुनेछैन । अबको केही दिनमा कसले सत्तारोहण गर्ने हो भन्ने केही संकेत आउने नै छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी निर्वाचनमा होमिएका छन् । त्यसैगरी प्रमुख विपक्षी नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही स्थानमा तालमेल गरी उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ । सत्ता गठबन्धनका अन्य सहयोगी दलहरुले सत्ता गठबन्धनले बहुमत ल्याए अबको प्रधानमन्त्री देउवा हुने बताइसकेका छन् ।

स्वयं प्रधानमन्त्री देउवाले पनि आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा चुनावी प्रचारप्रसारका क्रममा गर्नुभएको सम्बोधनमा डडेल्धुराबासीलाई आफूलाई निर्वाचित गराए भावी प्रधानमन्त्रीलाई निर्वाचित हुने बताउनुभएको थियो ।

२०४८ सालदेखिका संसदीय निर्वाचनमा लगातार छ पटक विजयी बन्नुभएका देउवा यसपटक पनि निर्वाचित हुनु भएकाे छ  ।

प्रधानमन्त्री देउवाले एक सञ्चारमाध्यमसँगको कुराकानीमा डडेल्धुराबासीले आफूलाई सांसदका रुपमा मात्र नभई भावी प्रधानमन्त्रीका रुपमा निर्वाचित गराउने बताउनुभएको थियो ।

हुन त उहाँलाई ज्योतिषी सुरेशचन्द्र रिजालले सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नै गर्नुभएको छ । पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका देउवा अब छैटौँ पटक सत्ताको बागडोर लिन अग्रसर हुनुहुन्छ ।

तर उहाँलाई प्रधानमन्त्री बन्ने बाटोमा उहाँकै पार्टी कांग्रेसका महामन्त्री गगन थापाले चुनौती दिनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा आज निर्वाचित भएपछि उहाँले संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्ने बताउनुभएको छ ।

प्रधानमन्त्री बन्नका लागि सबैभन्दा पहिला संसदीय दलको नेता बन्नुपर्ने संवैधानिक व्यवस्था छ । थापाले देउवालाई संसदीय दलको नेतामै चुनौती दिनुभएको छ । उहाँले मुलुक चलाउनका लागि युवा नेतृत्वको खाँचो रहेको भन्दै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।

“मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो । अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको उहाँले बताउनुभएको छ । “त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनअघि पनि चुनावी सम्बोधनका क्रममा आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताउनुभएको थियो ।

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताउनुभएको थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अर्का गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताइसक्नुभएको छ । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उहाँले बताउनुभएको छ ।

त्यस्तै काठमाडौँ १ बाट निर्वाचित प्रकाशमान सिंहले पनि आफू प्रधानमन्त्रीको दावेदार रहेको बताउनुभएको छ । “प्रधानमन्त्रीका लागि म पनि स्वाभाविक उम्मेदवार हूँ, साथीहरुसँग छलफल गरेर संसदीय दलको नेतृत्वका लागि तयारी गर्नेछु”, उहाँले भन्नुभएको छ ।

मतगणनाको परिणामले संसदीय समीकरण कस्तो बन्ने भन्ने टुंगो लागिसकेको छैन । परिणामले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने हो कि वा अन्य दलले नेतृत्व लिने अवस्था आउने हो अहिले नै भन्न सकिने अवस्था छैन ।