२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै हस्पिटलमा तोडफोड



अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा बिरामीका आफन्तहरुले एक हस्पिटलमा तोडफोड गरेका छन् । जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै बिरामीका आफन्तजनले वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड गरेका हुन् । 

बिरामीका आफन्तजनले आइतबार दिउँसो अस्पतालमा तोडफोड गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन्। वीरगञ्ज उपमहानगरपालिका २० की ३२ वर्षीया मुटु रोगी रमितादेवीलाई जीवितमै मृत घोषणा गरेको भन्दै अस्पतालको इमरजेन्सी कक्षमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । 

कुटपिटबाट अस्पतालकी नर्स बबिता चौधरी र डा. विजय महतो घाइते भएका छन् । अस्पताल प्रमुख रामराज श्रेष्ठका अनुसार सिसा फुटाउँदा लागेर रौतहटको मौलापुर नगरपालिका ४ की बिरामी २७ वर्षीया सुमिता देवी घाइते भएकी छन्। 

प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२० का सुरेश राम, राकेश राम, अक्षय राम र भीम राम रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए। 

अस्पतालको जाहेरीको आधारमा उनीहरूमाथि मुद्दा दायर गरेर कारबाही गर्ने खनालले बताए।