२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन
अ अ+ अ-

तनहुँ । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । 

जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए । 

देवघाटका शिक्षा अधिकृत होमनाथ लामिछानेले तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरी विद्यालयमा पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो । “जोखिम कायमै रहेकाले सबै मापदण्ड अपनाउन विद्यालयलाई निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । 

व्यासले गत सातादेखि विद्यालय सञ्चालन गरेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले सम्भव भएसम्म वैकल्पिक विधिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न र अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १०० भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजेसम्म प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

सयभन्दा बढी विद्यार्थी भएमा एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी नरहने गरी दिउँसो २ बजेसम्म मात्र कक्षा सञ्चालन गर्न र धेरै विद्यार्थी भएका विद्यालयले २५ भन्दा बढी प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समूह वा सिफ्ट वा जोरबिजोर आधारमा कक्षा सञ्चालन गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।

शुक्लागण्डकी–९ घारीस्थित तालबेँसी माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा अपनाएर कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । “विद्यार्थी विद्यालय छिर्ने बेलामा ज्वरो नाप्छौँ, मास्क अनिवार्य गरिएको छ । विद्यार्थीले घरबाट नलाइकन आएमा विद्यालयले मास्क दिन्छ । स्यानिटाइजर लगाएपछि मात्र कक्षाकोठामा प्रवेश गर्र्न दिएका छौँ”, उहाँले भन्नुभयो ।

कक्षामा एउटा बेन्चमा दुई जनामात्र विद्यार्थी राख्ने गरेको उहाँले बताउनुभयो । कक्षामा २५ बढी राखिएको छैन । १–५ का विद्यार्थीलाई बिहान १० बजेदेखि १ बजेसम्म र  ६–१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाइएको छ ।

शुक्लागण्डकीकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिनुभयो । “विद्यार्थी धेरै स्थानबाट आउने भएकाले सङ्क्रमणको जोखिम छ । बजार क्षेत्रमा सङ्क्रमितको सङ्ख्या पनि धेरै छ, त्यसैले अहिलेलाई बन्द गर्न भनेका हौँ ।”

घिरिङले गत साउनको सुरुआतदेखि नै विद्यालय सञ्चालन गरेको थियो । गत असार महिनामा भर्ना अभियान चलाएर साउनबाट विद्यालय खोलिएको हो । सङ्क्रमणको कम जोखिम भएका विद्यालय खुलाएर पठनपाठन जारी राखेको शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो । “ बिरामी देखिन्छन् त्यहाँ विद्यालय बन्द गर्यौँ । जोखिम नभएका विद्यालयमा निरन्तर पढाइ चल्यो । यसैगरी साउनदेखि विद्यालय चलाएका छौँ”, उहाँले भन्नुभयो । 

विद्यालय नखुलेका स्थानीय तहमा पनि विद्यालयले खोल्ने अनुमति मागेका छन् । भिमादले पनि विद्यालय खोल्ने तयारी गरेको स्रोतव्यक्ति केशवराज वाग्लेले बताउनुभयो । सबै विद्यालयमा स्वास्थ्य सामग्री पुर्याइसकिएको जानकारी दिँदै उहाँले गाउँतिरका विद्यालय खुलिसकेको बताउनुभयो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले भने हालसम्म विद्यालय सञ्चालनको अनुमति दिएको छैन । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोनाको जोखिम कायम रहेकाले विद्यालय खुलाउन अनुमति नदिइएको जानकारीदिनुभयो ।