• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी

लोमान्थाङमा ‘तिजी’को रौनक



मुस्ताङ । मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य छेवाङ रिङजिङ गुरुङले बताउनुभयो ।

“दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आएका छन्”, उहाँले भन्नुभयो, “तीजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।” लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिएको बताउनुभयो ।

“प्राकृतिक प्रकोप, रोगव्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गर्दछौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन जमिनका देवीदेवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाले नृत्यमार्फत देखाउने गर्छन् ।” तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । पोल्याण्डका दुई जना पर्यटक ल्याएर आएका हिमालयन वन्डर कम्पनीका पथप्रदर्शक कर्साङ शेर्पाले तिजी पर्व अवलोकनका लागि मात्र लोमान्थाङ आउने पर्यटक धेरै भएका बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले तिजी पर्व अवलोकनका लागि ३०० भन्दा बढी विदेशी पर्यटक आएका बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका छन् । यसअघिका दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पूजाआजा मात्र गरेर तिजी मनाएका थिए । पर्यटक आएका थिएनन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलगायत विशिष्ट पाहुनाले पनि तिजी पर्व अवलोकन गर्नुभएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताउनुभयो ।

माटोको पर्खालभित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३ औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए । रासस