१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राबाट हराएका इन्द्रको खोजी



अ+ अ-

काठमाडौं । जात्रामाण्डौं, काठमाडौंको अर्को एउटा नाम । यहाँ वर्षभरी नै विभिन्न जात्राहरु भइ नै रहन्छ । सेतो मच्छिन्द्रनाथको रथजात्रा, पाहाँचः¥हेमा कंकेश्वरी, भद्रकालीको खट जात्रा, दशैंमा पचली भैरवको जात्रा, दशैंको मुख्य दिन विजया दशमीकै दिनमा खड्ग जात्रा लगायत थुप्रै जात्राहरु यहाँ भइ नै रहन्छ । उपत्यका भरीका सबै जात्राहरुको नाम यहाँ लेख्दै गए त पुरै लेख जात्राकै नामले भरिन्छ । 

भर्खरै काठमाडौं उपत्यकामा कुमारीको साथमा भैरव र गणेशसमेतको रथ जात्रा गर्दै यस वर्षको इन्द्रजात्रा अथवा येँयाः सम्पन्न भएको छ । इन्द्रजात्रा भन्ने वित्तिकै कुमारीको रथ जात्रा नै सबैले सम्झिन्छन् । इन्द्रजात्रा भनेकै कुमारीको रथ जात्रा, कुमारीको रथ जात्रा भनेकै इन्द्रजात्रा, धेरैको लागि आज यस्तै भइसकेको छ ।

काठमाडौंको आठ रात नौ दिनको जात्रा भनेर पनि इन्द्रजात्रालाई चिनिन्छ । पर्वको नाम भने इन्द्रसँग जोडिएको तर, जात्रामा विशेष आकर्षण भनौं मुख्य गतिविधि भने कुमारीको रथ जात्रा, कसरी ? यो प्रश्न पनि उठ्न सक्छ । सर्वप्रथम कुमारीको रथ जात्राको शुरुवात कसरी भयो भन्ने बुझौं ।

कुमारीको रथयात्राको सम्वन्धमा एउटा किम्वदन्ति मल्लकालीन राजाहरु तन्त्र विद्यामा निकै निपुण मानिन्छन् । उनीहरु देवी देवतासँग प्रत्यक्ष सम्वादसम्म पनि गर्न सक्थे रे । यति मात्र होइन, कान्तिपुरका अन्तिम मल्ल राजा जय प्रकाश मल्ल त आफ्नी इष्टदेवी तुलजा भवानीसँग चौसरसमेत खेल्ने गर्थे रे । चौसर खेल्ने क्रममा तुलजा भवानीले पर्दा पछाडी बसेर पासा फ्याँक्ने गर्थे रे । 

यसै क्रममा एक पटक पासा फ्याँक्नको लागि तुलजा भवानीले पर्दा पछाडीबाट हात बाहिर निकाल्दा जय प्रकाश मल्लको ध्यान तुलजा भवानीको हातको सुन्दरतामा गएछ । ‘हातै यति सुन्दर छ त, अनुहार झन कति राम्रो होला ।’ जय प्रकाश मल्लको मनमा यस्तो कुविचार आएछ र पर्दा बाहिर तान्नलाई तुलजा भवानीको हात समातेर तानेछन् । लगत्तै तुलजा भवानी अलप भइछन् ।

पछि पश्चाताप मान्दै जय प्रकाश मल्लले क्षमा माग्दै तुलजा भवानीलाई फर्किन आह्वान गरेछन् । नीच नजर लगाइसकेको भएकोले आफु अब नफर्कने कुरा भनीन् । धेरै अनुनय विनय गरेपछि तुलजा भवानीले एक बालिकालाई कुमारी स्थापना गरी रथयात्रा गर्नु, र तिनै बालिकाको शरीरमा आफु समाहित भई आउने बताइन् । त्यसपछि जय प्रकाश मल्लले शाक्य कुलकी एक कन्यालाई कुमारी बनाई इन्द्रजात्रामा कुमारीको रथ यात्राको शुरुवात गरे । 

यस किम्वदन्तिको अनुसार पनि इन्द्रजात्राको शुरुवात पहिल्यै भइसकेको र इन्द्रजात्रामा पछि मात्रै कुमारीको रथयात्रा जोडिएको देखिन्छ । कुमारीको रथयात्रा भन्दा इन्द्रजात्रा अझ प्राचीन हो भन्ने कुरा कुमारीको रथयात्राको किम्वदन्तिले नै प्रमाणित गरेको छ ।

इन्द्रजात्रालाई नेवार समुदायले यँयाः भन्ने गर्छन् । यँयाःलाई इन्द्रजात्रा भन्दै इन्द्रकरण अथवा भनौं हिन्दुकरण गरेको आरोप पनि आइरहने गर्छ । मुख्य रुपमा यो जात्रा इन्द्रकै भएको अध्येताहरुको भनाई छ । इन्द्रजात्राको सम्वन्ध मृत्यु संस्कारसँग पनि देखिएको छ । पितृ पक्षमा पर्न आउने इन्द्रजात्रामा मृतकको सद्गतिको लागि विभिन्न क्रियाकलापहरु हुने गर्दछ । जस्तै हाथुद्यः अर्थात श्वेतभैरवकोमा हाथु हायेकेगु, उपाकू, दागिं आदि । यी विभिन्न अलग अलग गतिविधिको बारे फेरी पनि चर्चा गर्दै गरौंला । अहिले इन्द्रमै केन्द्रीत होऔं । 

सर्वप्रथम यँयाः र इन्द्रजात्राको विषयमा चर्चा गरौं । इन्द्रजात्राकै अपभ्रम्स हुँदै यँयाः बन्न गएको भन्ने भनाई अध्येता, संस्कृतिविद्हरुको भनाई छ । इन्द्रयात्रा – इन्द्रयाः – ईन्याः हुँदै यँयाः हुन गएको संस्कृतिविद्हरुको भनाई छ । आफ्नो परिवार, आफन्त वा छरछिमेक चिनजानमा कसैको मृत्यु भएमा हामी मृतकको स्वर्गबासको कामना गर्दछौं । स्वर्ग, जहाँ मृत आत्मा गएर बस्छन्, जहाँ मृत आत्माले सद्गति पाउँछ । इन्द्र त्यहि स्वर्गका राजा हुन् । मृतकको सद्गति वा स्वर्गबासको कामना गर्दै इन्द्रको उपासना गरेर इन्द्रजात्रा मनाउने गरिएको हो । 

यो जात्राको शुरुवातको सवालमा पनि रमाईलो किम्वदन्ति समाजमा प्रचलित छ । इन्द्रकी आमा वसुन्धराको व्रत बसिछन् । र व्रत पूजाको लागि आवश्यक पारिजातको फुल लिएर आउन आफ्ना छोरा इन्द्रलाई भनेछन् । पारिजातको फुल खोज्न इन्द्र नेपाल खाल्डोमा आइपुगेछन् । एउटा फुलबारीमा सुन्दर पारिजातका फुलहरु देखेपछि फुलबारीका मालिकसँग नसोधीकनै फुल टिप्न थालेछन् । अन्जान व्यक्ति आफ्नो फुलबारीमा फुल टिपिरहेको देखेर ती फुलबारीका मालिकले इन्द्रलाई फुल चोर भन्दै समाएर एउटा खम्बामा बाँधिदिएछन् र नगर घुमाएछन् ।

पछि उनी त इन्द्र हुन् भनेर चिनेपछि सबैले आफ्ना दिवंगत परिवारलाई स्वर्ग लिएर जान अनुनय विनय पनि गरेछन् । इन्द्रले त्यो कुरा नमानेपछि उनलाई बाँधेर नै राखेछन् । आज पनि यसै घटनाको सम्झनास्वरुप इन्द्रजात्राको क्रममा काठमाडौंको इन्द्रचोकमा आकाश भैरव मन्दिरको अगाडी हात फिँजाएर बसेको इन्द्रको मूर्ति राखिने गरेको छ । साथमा यस्तै मुर्ति काष्ठमण्डप अगाडी मरु टोलमा पनि राख्ने गरिन्छ । काठमाडौंका नेवारहरु यसलाई यमाःद्यः अथवा यम्बाःद्यः भन्ने गर्छन् ।

ईन्द्रजात्राको समयमा काठमाडौंको किलागल टोलबाट निकालिने हात्ती ‘पुलुकिसि’ को कथा पनि यसैसँग जोडिएको छ । पारिजातको फुल लिन गएका छोरा निकै बेरसम्म नफर्केपछि इन्द्रकी आमाले इन्द्रको हात्ती ऐरावतलाई इन्द्र खोज्न मत्र्यमण्डलमा पठाएछन् । दुर्लभ, निकै आकर्षक देखिने हात्ती देखेपछि मत्र्यमण्डलबासीले ऐरावतलाई पनि समाएर बाँधिदिएछन् । आजको दिनमा पनि किलागलबाट तिनै ऐरावत हात्ती पुलुकिसिको नामले ईन्द्र खोज्न ईन्द्रजात्राको समयमा निस्किने गर्छन् । 

अन्तमा इन्द्रकी आमा आफैं मत्र्यमण्डलमा छोरा खोज्न आए । मत्र्यमण्डलबासीले इन्द्रकी आमालाई चिनेर आफ्ना दिवंगत परिवारलाई स्वर्ग लिएर जान अनुरोध गर्दै सबै उनकै पछि लागेछन् । इन्द्रजात्राको मुख्य दिनको रुपमा लिइने भाद्र शुक्ल पुर्णिमा अर्थात यँयाः पुन्हिको दिनमा निकालिने दागिं यसैको प्रतिक हो । परिवारमा दिवंगत भएकाको सद्गतिको कामना गर्दै आजको दिनमा पनि दिवंगत व्यक्तिको परिवारका सदस्य दागिंसँगै काठमाडौंको कुमारी रुट घुम्ने गर्छन् र दागिंको यो यात्रा इन्द्रदह पुगेर सम्पन्न हुने गर्दछ ।

इन्द्रजात्राको परम्परा र यसको अर्थ हेर्दा यसको सम्वन्ध स्वर्गका राजा इन्द्र र मृत्यु संस्कारसँग प्रत्यक्ष देखिन्छ । तर आजको दिनमा भने इन्द्रजात्राबाट इन्द्र हराएका छन् । कुमारीको रथ जात्राको त आफ्नै विशिष्ट महत्व छ नै, तर यो भन्दा प्राचीन इन्द्राजात्रालाई आज कुमारीको जात्राले भने ओझेलमा पारेको कुरा नकार्न सकिन्न । हो, आजको दिनमा इन्द्रजात्राबाट यमाःद्यः वा इन्द्र हराएका छन् ।