– सप्तरीको कृष्ण–सवरण गाउँपालिका– ४ प्रसवनीकी ३३ वर्षीया शकुन्तलीदेवी सरदारलाई १८ असोज ०७६ मा बोक्सी आरोपमा स्थानीय डम्बर सरदार, बेचन सरदार र मावीदेवी सरदारले कुटपिट गर्दै मलमूत्र खुवाए । शकुन्तालीदेवी न्यायका लागि प्रहरी हुँदै जिल्ला अदालतसम्म पुगिन् । तर, दश महिनापछि १७ भदौ ०७७ मा न्यायाधीश प्रमेश पोखरेलको इजलासले तीनै अभियुक्त निर्दोष भएको ठहर गर्यो ।
– सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिकाकी कौशल्यादेवी यादवलाई ०७६ वैशाखमा स्थानीय बद्री यादव, विश्वेश्वर यादव, रामगुलाम यादव, उपेन्द्र यादव, शिवकुमार यादव, अरुण यादव र कामेश्वर यादवले बोक्सीको आरोपमा चरम यातना दिए । न्यायका लागि उनी प्रहरी हुँदै अदालतसम्म पुगिन् । तर, जिल्लाका न्यायाधीश रोमनाथ अधिकारीले दाबी नपुगेको भन्दै मुद्दा खारेज हुने आदेश गरे ।
– सप्तरीको शम्भुनाथ नगरपालिका– १२ की सकलकुमारीदेवी मण्डलमाथि १६ जेठ ०७६ मा छिमेकी पवनकुमार मण्डलले बोक्सीकै आरोपमा अमानवीय व्यवहार गरे । प्रहरी हुँदै सकलकुमारीले १ भदौमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिन् । तेस्रो पेसीमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दाबी नपुग्ने भन्दै मुद्दा खारेज हुने फैसला सुनाए, अभियुक्त मण्डलले उन्मुक्ति पाए ।
– बोक्सी आरोपमा दुव्र्यवहार खेपेकी सिराहाको मिर्चैया नगरपालिका– २ की ३८ वर्षीया कलासोदेवी साहले पनि न्यायका लागि अदालतको ढोका ढकढक्याएकी थिइन् । तर, जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाले २० भदौ ०७८ मा दाबी नपुगेको भन्दै दोस्रो पेसीमै उनको मुद्दा खारेज गरिदिए ।
– ०७५ माघको अन्तिममा सप्तरीकै रुपनी गाउँपालिका– १ की जैनव कुजर्नीमाथि पनि गाउँकै मोहम्मद मुस्तकिम राइन र समसुदिन राइनले बोक्सी आरोपमा दुर्व्यवहार गरे । मिलापत्रका लागि गाउँमै आएको दबाब थेग्दै उनले २ फागुन ०७५ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरिन् । तर, दुई वर्षपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दाबी नपुग्ने फैसला सुनाए ।
बोक्सीको आरोपमा भएका जघन्य अपराधका पीडितले न्याय नपाएका केही उदाहरण मात्रै हुन् यी । न्यायका माग्दै जेनतेन प्रहरी र न्यायालयसम्म पुग्ने निमुखा पीडित त्यहाँबाट पनि निराश हुने गरेका छन् । यस्ता अनगिन्ती उदाहरण छन्, अझ प्रदेश २ झन् धेरै ।
प्रहरीमा दर्ता भएका मुद्दा कुल घटनाका १० प्रतिशत मात्रै हुन् : मोहना अन्सारी, पूर्वआयुक्त, मानव अधिकार आयोग
बोक्सीको आरोपमा पीडित हुनेहरू मुलुकभर छन् । शिक्षित बस्नेहरू भनिएको सहरभित्रसमेत यो समस्या छ । प्रदेश २ मा सबैभन्दा धेरै पीडित छन् । तर, प्रहरीमा दर्ता भएको मुद्दा घटनाको १० प्रतिशत मात्रै हो । यसमा राजनीतिक दल र स्थानीय सरकार दोषी छन् । किनभने उनीहरूले यस्तो जघन्य अपराधविरुद्ध कुनै सचेतना कार्यक्रम नै गरेका छैनन् । जसको परिणाम स्थानीयले भोग्दै आएका छन् । अधिकांश घटना प्रहरीमा पुग्न नपाउँदै मिलापत्रमा टुंग्याइन्छ । कानुनी प्रक्रियाबाहिरै हुने मिलापत्रमा पीडित नै अन्यायमा पर्ने गरेका छन् ।
धेरैजसो घटना समाजका अगुवा भनिनेकै संरक्षणमा हुने गरेका छन् र उनीहरूकै नेतृत्वमा मिलापत्र गराएर पीडितलाई थप अन्याय पार्ने गरिन्छ । मुद्दा प्रहरीसम्म पुग्न नदिएर कानुनी बाटो गाउँमै बन्द गर्ने गरिन्छ भने प्रहरीमा पुगेका मुद्दामा पनि अधिकांश पीडितले न्याय पाएका छैनन् । किनभने पीडक पक्षले पहुँचको आडमा प्रहरीलाई नै प्रभावमा पारी मुद्दा कमजोर पार्ने गर्छन् । र, जघन्य अपराधका दोषीले न्यायालयबाट सहजै उन्मुक्ति पाउँछन् ।
वरिष्ठ अधिवक्ता जयकुमार गोइत वादीले दाबी गरेअनुसार प्रमाण नपुग्दा अदालतबाट अभिुक्तहरू छुट्ने गरेको बताए । प्रहरी र जिल्ला न्यायाधिवक्ताले प्रमाण जुटाउन नसक्दा वा मिलेमतोमा प्रमाण जुटाउन चासो नदिँदा अदालतबाट अभियोग दाबी नपुग्ने फैसला आउने गरेको उनको अनुभव छ । जिल्ला अदालत सिराहाका स्रेस्तेदार भट्टराईले पनि त्यसमा सहमति जनाए । अदालतमा साक्षी र पीडित स्वयंले बयान फेरेका घटना पनि धेरै रहेको उनले बताए । शक्ति र पहुँच भएका पीडकको दबाबमा त्यस्तो हुने गरेको छ ।
गत २९ असोमा महोत्तरीको जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीमाथि भएको जघन्य अपराधको घटनामा पनि त्यस्तै भइरहेको छ । उनलाई स्थानीय रगेश्वर महतोको परिवारले बोक्सीको आरोपमा मलमूत्र खुवाउँदै कुटपिट ग¥यो । घरअगाडि बिजुलीको खम्बामा तीन घन्टाभन्दा बढी बाँधेर कपाल चारपाटे मुड्दै चरम यातना दिए । सुकमरिया देवीले दिएको उजुरीका आधारमा प्रहरीले रगेश्वरसँगै पत्नी प्रमिला, छोराहरू सिकन्दर र अनिल तथा बुहारी पुरनीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर, सुकमरिया देवीलाई गाउँकै भलाद्मी भनिएकाले जाहेरी फिर्ता लिएर मिलापत्र गर्न दबाब दिइरहेका छन् । न्यायका लागि लड्न कस्सिएकी उनी अहिले अलमलमा छिन् ।
पर्साको छिपहरमाई गाउँपालिका– ३ छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई ३१ असार ०७७ मा बोक्सीको आरोपमा कुटपिट गर्दै अर्धनग्न बनाई गाउँ घुमाइयो । गाउँ घुमाउँदै गर्दा प्रहरीले महिलाको उद्धार गरेको थियो । पीडितले बेला गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानूलगायत आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइन् । आरोपीमध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानू, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले नै नियन्त्रणमा लियो । जिल्ला अदालत पर्साले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठायो ।
तर, एक वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला भएको छैन । अन्य अभियुक्त खुला घुमिरहेका छन् । न्याय पाउन ढिलाइ हुँदा पीडितले असुरक्षा महसुस गरिरहेकी छिन् । त्यसअघि ०७७ को पुसमा पनि उनीमाथि दुव्र्यवहार भएको थियो । तर, एक महिलाको पक्षमा बोलिदिने कोही नभएकाले गाउँघरको मामला भन्दै घटना गाउँमै दबाइएको थियो । प्रहरी हुँदै अदालतसम्म पुग्दा पनि समयमै न्याय नपाएकाले उनको मनमा न्याय नपाउने डर बढ्दै छ ।
बोक्सीकै आरोपमा छिमेकी धर्मनाथ यादव र उनका छोरा सन्तोषलगायतले २८ भदौ ०७७ मा मलमूत्र खुवाई निर्घात कुटपिट गरिएकी सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डीकी मूर्तिदेवी यादव पनि न्यायको पर्खामा छिन् । आफ्नी छोरी रञ्जनालाई टुनामुना लगाएको आरोपमा धर्मनाथले मूर्तिदेवीलाई बर्बर यातना दिएका थिए ।
मुखको बंगारामा चोट लागेर गम्भीर घाइते भएपछि मूर्तिदेवीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो । सञ्चारमाध्यममा लगातार समाचार आएपछि प्रहरीले उजुरी लिएर मुद्दा अघि त बढायो, तर जिल्ला अदालतबाट प्रमुख अभियुक्त सन्तोष यादव धरौटीमा छुटे । न्यायाधीश रोमनाथ अधिकारीले २० कात्तिक ०७७ मा अभियुक्त सन्तोष यादवलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । (आजको नयाँपत्रिका दैनिकमा खबर छ । विस्तृत समाचार नयाँपत्रिकामा छापिएको छ)