१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानसँग वार्ता गर्न अफगान टोली युएई पुग्यो



अ+ अ-

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरुबीच सोमबार पनि वार्ता भएको छ ।

प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको हो, अफगान राष्ट्रपति कार्यालयका प्रवक्ता हारुन चाखानसुरीले ट्वीट मार्फत बताउनुभयो ।

राष्ट्रपति अश्रफ घानीले गत नोभेम्बरमा वार्ताका लागि राहिमीको नेतृत्वमा १२ सदस्यीय वार्ता टोली घोषणा गर्नुभएको थियो । तर तालिबान समूहले भने वार्ताका बारेमा अझै टुङ्गो नलागेको बताएको छ । उनीहरुले अफगानी अधिकारीहरुसँग वार्ता नगर्ने विगतकै अडान दोहो¥याएका छन् ।

तालिबान समूहले मङ्गलबार जारी गरेको वक्तव्यमा आफूहरुले अमेरिकी विशेषदूत जाल्मे खलिलजादसँग सोमबार प्रारम्भिक वार्ता गरेको जनाएको छ । समूहले अफगान शान्तिका बारेमा पाकिस्तान र साउदी अरेबिया तथा युएईका अधिकारीहरुसँग पनि विस्तृत परामर्श गरेको बताएको छ । वार्तामा उनीहरुले अफगानिस्तानबाट सबै अन्तर्राष्ट्रिय फौज फिर्ता हुनुपर्ने पूर्वशर्त राखेका छन् ।

साउदी अरेबिया, युएई र पाकिस्तानले मात्र सन् १९९६ देखि २००१ सम्म चलेको तालिबान सरकारलाई मान्यता दिएका थिए ।

अबुधाबीमा खलिलजाद र तालिबानबीच प्रत्यक्ष वार्ता भए नभएको बारेमा अमेरिकाले अझै पुष्टी गरेको छैन । गत सोमबार वासिङ्टनले एक वक्तव्य जारी गरी युएईमा अफगानिस्तानको शान्तिका बारेमा वार्ता भइरहेको बताएको थियो । वक्तव्यमा खलिलजादले द्वन्द्व समाप्तीका बारेमा इच्छुक सबै पक्षसँग वार्ता गर्ने जनाइएको छ ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले हस्तक्षेप गरेको थियो । उक्त घटनापछि तालिबान सरकार अपदस्थ गरिएको थियो । तर त्यसयता तालिबान समूह र इस्लामिक स्टेटले अफगानिस्तानमा सशस्त्र युद्ध गरिरहेका छन् जसका कारण हजारौंको ज्यान जानुका साथै लाखौं विस्थापित भएका छन् । रासस