काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्ने उद्देश्यसहित इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो।
पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालय निर्माण गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ।
पार्टीको २०८३ असोज १७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार घर वा जग्गा खरिद प्रक्रिया अघि बढाउन लागिएको हो।
रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खोजिरहेको जनाएको छ।
इच्छुक घरधनी तथा जग्गाधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक सर्त तथा मापदण्ड पूरा गरी प्रस्ताव पेस गर्नुपर्नेछ।
घर वा जग्गा खरिदसम्बन्धी विस्तृत जानकारी, सर्त तथा मापदण्डका लागि पार्टीले उपलब्ध गराएको सूचनासम्बन्धी कागजात डाउनलोड गर्न सकिनेछ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले इच्छुक घरधनी तथा जग्गाधनीलाई निर्धारित समयभित्र प्रस्ताव पेस गर्न आग्रह गरेका छन्।








