१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
अ अ+ अ-

लमजुङ । बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ ।

केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लाग्नुभएको हो ।

तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिनुभएको थियो । उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताउनुभयो ।

सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो । बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन । विसं २०७५/७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

विसं २०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो । सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो । तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिनुभएको छ ।

ड्रागन फ्रुटसँगै उहाँहरूले खुर्सानी र तरबुजाखेती गर्नुभएको छ । करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो ।

मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानीखेती बन्द गरिएको इन्द्रले बताउनुभयो । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।

ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ । विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो । यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म करिब १२ लाख आम्दानी भएको छ । प्रतिकिलोग्राम रु ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ । कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ ।

आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ । घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उहाँले बताउनुभयो । खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताउनुभयो । आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ ।

सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन् । उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो । हालसम्म उक्त खेतीका लागि रु ३० लाख लगानी भइसकेको छ । पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उहाँले बताउनुभयो । हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ ।

आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्याउने लक्ष्य रहेको इन्द्रले बताउनुभयो ।कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझाखेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन् । रासस