१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन



अ+ अ-

काठमाडौं काठमाडौं महानगरपालिकाभित्र भूउपयोग वर्गीकरणको प्रक्रिया अघि बढाइने भएको छ । भूउपयोग परिषद्को बैठकले महानगर क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

भूउपयोग परिषद्का अध्यक्ष एवं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जग्गाको वास्तविक अवस्था, उपयोग र स्वामित्वसम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली (जीआईएस) मा एकीकृत गर्ने निर्णय गरेको छ । यसबाट भूमि व्यवस्थापन, सहरी योजना, राजस्व, विपद् व्यवस्थापन तथा नागरिक सेवा प्रवाहलाई तथ्यमा आधारित बनाउने महानगरपालिकाको लक्ष्य छ ।

महानगरपालिकाका अनुसार हालसम्म घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रभर ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम सम्पन्न भएको छ । महानगरभित्रका १२ हजार ८११ वटा सडकको नक्साङ्कन गरिएको छ भने दुई हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआईएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ ।

त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि दुई लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको महानगरपालिकाले जनाएको छ । तीमध्ये २५ हजार १९ भवनको प्रमाणीकरण भइसकेको छ । विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआईएस अभिलेख तयार गरिएको छ ।

भूउपयोग तथा भूमि व्यवस्थापनसम्बन्धी कामलाई एकीकृत गर्न महानगरपालिकाले अस्थायी रूपमा ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त एकाइले भूउपयोग क्षेत्रको वर्गीकरण तथा अद्यावधिक, कित्तागत विवरण र जियोडाटाबेस निर्माण तथा अद्यावधिक, भूमि तथा जीआईएससम्बन्धी तथ्यांक व्यवस्थापन, नक्साङ्कन र प्राविधिक कामको समन्वय गर्नेछ ।

भूउपयोग वर्गीकरणअन्तर्गत कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिनेछन् । आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था रहेको छ ।

बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले महानगरपालिकाले हालसम्म गरेको नक्साङ्कन तथा डिजिटल अभिलेखीकरणसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । यस्तै, नापी विभागको भूउपयोग शाखाका प्रमुख नापी अधिकृत खिम राना र नापी अधिकृत प्रकाश दुलाले भूउपयोग वर्गीकरणको प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।

भूमि व्यवस्थापनतर्फ गत वैशाख २ गतेदेखि महानगरपालिकाका १० वडाबाट सुरु गरिएको सेवामा भदौ ३० गतेसम्म ३५० भन्दा बढी निवेदन परेको महानगरपालिकाले जनाएको छ । त्यसमध्ये २८० भन्दा बढी लिखत पारित तथा ५० भन्दा बढी नामसारीसम्बन्धी निवेदन फस्र्योट गरी स्वामित्व हस्तान्तरण गरिएको छ । वडा नम्बर १५ बाट मात्रै ६५ वटा कारोबार सम्पन्न भएको छ ।

अब महानगरपालिकाका सबै ३२ वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्य महानगरपालिकाले लिएको छ ।

भूउपयोग वर्गीकरणको अन्तिम प्रक्रियामा नापी विभागबाट प्राप्त नक्सा तथा तथ्यांक अध्ययन, जनप्रतिनिधिलाई जानकारी, आधार तथा मापदण्ड तयारी, सरोकारवालासँग छलफल, भूउपयोग उपक्षेत्रमा वर्गीकरण, नक्सा तयार तथा स्वीकृति र अन्तिम कित्तागत विवरण सार्वजनिक गरिनेछ । स्वीकृत नक्सा तथा कित्तागत विवरण महानगरपालिकाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गरी सम्बन्धित मालपोत तथा नापी कार्यालयमा पठाइनेछ ।

महानगरपालिकाले आगामी दिनमा ड्रोन तथा लाइडार प्रविधि, तथ्यांक प्रशोधन र विश्लेषणमार्फत डिजिटल प्रशासन तथा स्थानमा आधारित योजना निर्माणलाई प्राथमिकता दिने जनाएको छ । जीआईएसको प्रयोग स्मार्ट टोल, सडक सुरक्षा तथा यातायात व्यवस्थापन, ई–रेजिष्ट्रेसन, सामाजिक नक्साङ्कन र घरधुरी सर्वेक्षणलगायतका काममा विस्तार गर्ने योजना महानगरपालिकाको छ ।

भूउपयोग ऐन, २०७६ अनुसार पालिका प्रमुखको अध्यक्षतामा भूउपयोग परिषद् रहने व्यवस्था छ । परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव तथा कार्यपालिकाका सदस्य रहने व्यवस्था छ । त्यस्तै, प्रमुखको संयोजकत्वमा भूउपयोग कार्यान्वयन समिति तथा वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य–सचिव रहने भूउपयोग कार्यान्वयन उपसमिति रहने कानुनी व्यवस्था छ ।