काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोपछि भइरहेको खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको प्रभावकारी समन्वय र अनुगमनका लागि एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोशी लगायतका क्षेत्रमा बाढीपहिरोपछि सरकारले तथा राजनीतिक दलहरूले गरेका कामको गम्भीर समीक्षा गर्दै संसदीय विशेष समिति गठन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी समिति गठन गरिनेछ । समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन तथा समन्वय गर्नेछ ।
समितिको कार्यक्षेत्र (टीओआर) भने अझै तय हुन बाँकी रहेको खरेलले बताउनुभयो । समितिले विपद् व्यवस्थापनका क्रममा भएका कामको अध्ययन गरी कहाँ–कहाँ सुधार आवश्यक छ भन्ने विषयमा सरकारलाई सुझाव दिने उहाँको भनाइ छ ।
बैठकले रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ । उक्त संयन्त्रमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका राजनीतिक दलहरूको सहभागिता रहनेछ ।
बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा समेत छलफल भएको थियो । सहभागी दलका नेताहरूले नेपालले भोगिरहेको वातावरणीय क्षतिको क्षतिपूर्ति तथा ‘जलवायु न्याय’को विषयलाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच समन्वय आवश्यक रहेको भन्दै बैठकले त्यसका लागि राजनीतिक संयन्त्र र संसदीय विशेष समितिमार्फत अनुगमन तथा सहजीकरण गर्ने निष्कर्ष निकालेको हो ।









