भक्तपुर। गृहमन्त्री सुधन गुरुङले मङ्गलबार जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ ।
भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गृहमन्त्री गुरुङले आगलागी भएमा अग्नि नियन्त्रणका लागि ‘ड्रोन’ प्रविधि आइसकेको बताउँदै त्यसतर्फ पनि सरकारले ध्यान दिने बताउनुभयो । उहाँले दमकलको अवस्थाका बारेमा चासो लिनाका साथै समस्या समाधानका लागि आफू लाग्ने बताउनुभयो ।
कार्यालयका प्रमुख धौभडेलले बेल्जियमको समूहले अग्नि नियन्त्रकलाई तालिम दिने गरेको जानकारी गराउनुभएको थियो । उहाँले दुईवटा ड्रोन ल्याउन सके अग्लो ठाउँमा लाग्ने आगो नियन्त्रणका लागि सहज हुने बताउनुभयो । यस वर्ष सरकारले प्रविधि एवं उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ । पुराना दमकलको सङ्ग्रहालय निर्माण गर्न र कर्मचारीको समस्या समाधानमा चासो दिन उहाँले आग्रह गर्नुभयो ।
गृहमन्त्री गुरुङ दमकलको अवलोकनपछि राति नै नवदुर्गा मन्दिर पुग्नुभएको थियो । गृहमन्त्रीले नवदुर्गा मन्दिरमा दसैँको नवमीका दिन राति बलि दिने खमेय (राँगो) का बारेमा जानकारी लिनुभएको थियो । नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा एवम् पर्व सञ्चालनका लागि सरकारले चासो दिनुपर्ने बताउनुभयो ।
यसबीच गृहमन्त्री गुरुङले कमलविनायक बजार र कमलपोखरीको अवलोकन गर्नुभयो । सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्थाका बारेमा उहाँलाई जानकारी गराउनुभएको थियो । रासस









