२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा



अ+ अ-

पर्सा। वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ।

हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ।

उनले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताए। अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उनले जानकारी दिए।

सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र गतिमा भइरहेको उनले बताए।

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो। सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो।

सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो। तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताए। रासस