२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी



अ+ अ-

 

काठमाडौं । विश्व भूराजनीतिमा ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई थप गति दिने उद्देश्यसहित हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु भएको छ।

सम्मेलनमा विश्वका ७० मुलुकका ६ हजारभन्दा बढी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताको सहभागिता रहेको छ। सम्मेलनले बढ्दो विश्व विभाजनबीच हङकङलाई आर्थिक ‘सुपर-कनेक्टर’ का रूपमा प्रस्तुत गरेको छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा बढिरहेको भूराजनीतिक तनावका बीच बीआरआईले अघि सारेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति महत्वपूर्ण औजार भएको बताए।

बीआरआईलाई पुरानो रेशम मार्गको निरन्तरताका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै लीले यो विगतको नक्सा नभई भविष्यको साझा खाका भएको बताए। हङकङ त्यस्तो साझा भविष्यलाई मूर्तरूप दिने प्रमुख केन्द्रका रूपमा विकास भइरहेको उनको भनाइ थियो।

सम्मेलनमा प्रस्तुत तथ्याङ्कअनुसार बीआरआई साझेदार मुलुकसँग हङकङको आर्थिक सम्बन्ध पछिल्लो समय उल्लेख्य रूपमा विस्तार भएको छ। गत वर्ष हङकङ र बीआरआई साझेदार मुलुकबीचको वस्तु व्यापार १७ प्रतिशतले वृद्धि भई ३२३ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ।

त्यस्तै, बीआरआई साझेदार राष्ट्रका करिब १ हजार ५ सय कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन्। तीमध्ये १०० भन्दा बढी कम्पनी हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी रूपमा पुँजी संकलन गरिरहेका छन्।

हङकङ व्यापार विकास परिषद्का अध्यक्ष फ्रेडरिक माले बीआरआई परियोजना सञ्जाल निर्माणबाट अघि बढेर त्यसबाट सिर्जित सम्भावनालाई ठोस आर्थिक लाभमा रूपान्तरण गर्ने चरणमा प्रवेश गरेको बताए।

उनले दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान), मध्य एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकालाई आगामी दिनमा तीव्र आर्थिक अवसर सिर्जना गर्न सकिने रणनीतिक क्षेत्रका रूपमा औँल्याए।

सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित ३२ वटा महत्वपूर्ण समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर भएको छ। ती सम्झौताले बीआरआई साझेदार मुलुकबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।