२३ भाद्र २०८३, मंगलवार
,
Latest
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा



अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गर्नुभएको छ ।

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वयसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो ।

यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्रीद्वयले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरूले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।

अनुगमन टोलीमा स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो । भ्रमण कार्यतालिकाअनुसार अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ, विदुरबाट सुरु भएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारि क्षेत्रबाट बाढीप्रभावित स्थानको अवलोकन गरिएको थियो ।

टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुर (नुवाकोट दरबार) को समेत अवलोकन गरेको थियो । कार्यतालिकाअनुसार विदुरस्थित कर्भट हल, चन्द्रज्योति माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको अनुगमन गरिएको थियो ।

भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिनुका साथै प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन् । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ । रासस