२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको विपद् तथा आपत्कालीन उद्धार सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको Y-20A ठूलो क्षमताको सैन्य विमानमार्फत उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

चीनबाट आएको पछिल्लो खेपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती लगायतका सामग्री छन्।

नेपालमा पछिल्लो समय देखिएका बाढी तथा अन्य विपद्का घटनापछि तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर चीनले यी उपकरण उपलब्ध गराएको जनाइएको छ। यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा आपत्कालीन प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी होभरक्राफ्ट र बाढी पम्प पानीजन्य विपद् तथा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पानी व्यवस्थापनका लागि उपयोगी हुनेछन्। त्यस्तै, सौर्य ऊर्जाबाट चल्ने बत्ती लगायतका सामग्रीले विपद्का बेला उद्धार टोली तथा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

चीनबाट आपत्कालीन राहत सामग्रीको चौथो खेप आइपुगेसँगै नेपालमा विपद् व्यवस्थापन तथा मानवीय सहायताका क्षेत्रमा चिनियाँ सहयोग थप विस्तार भएको छ।