२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने



अ+ अ-

नेपालगन्ज । नेकपा (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्ने भएको छ। पार्टीले यस्ता गतिविधिको स्क्रिनसट संकलन गरी अध्ययन तथा अनुसन्धानपछि तथ्यका आधारमा बुलेटिन प्रकाशन गर्ने जनाएको छ।

एमाले बाँकेकी उपसचिव एवं प्रचार विभाग प्रमुख निर्मला सुनारका अनुसार सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा–द्वेषपूर्ण गतिविधिको प्रमाण संकलन गरी अध्ययन गरिनेछ। त्यसपछि प्राप्त तथ्यका आधारमा बुलेटिन प्रकाशन गरिने उनले जानकारी दिइन्।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक असहमति र आलोचनालाई गालीगलौज तथा व्यक्तिगत आक्रमणमा परिणत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। विज्ञप्तिमा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता–कार्यकर्ताबाट राजनीतिक विरोधी तथा आलोचकलाई लक्षित गरी अशिष्ट र अपमानजनक अभिव्यक्ति आउने गरेको भन्दै आपत्ति जनाइएको छ।

एमालेले आलोचना लोकतन्त्रको आवश्यक पक्ष भए पनि आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने प्रवृत्ति राजनीतिक संस्कार नभएको जनाएको छ।

सामाजिक सञ्जालमा हुने चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिले समाजमा असहिष्णुता र राजनीतिक ध्रुवीकरण बढाउन सक्ने भन्दै एमाले बाँकेले सबै राजनीतिक दलका नेता–कार्यकर्ता तथा आम नागरिकलाई सामाजिक सञ्जालको मर्यादित र जिम्मेवार प्रयोग गर्न आग्रह गरेको छ।
‘विचारसँग लडौँ, व्यक्तिसँग होइन; तर्कले जवाफ दिऔँ, गालीले होइन’ भन्ने धारणा अघि सार्दै एमाले बाँकेले राजनीतिक विरोधीलाई गाली गरेर आफ्नो विचार बलियो नहुने जनाएको छ।

बुलेटिन प्रकाशनका लागि एमाले बाँकेले सात सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा निर्मला सुनार तथा सदस्यहरूमा खेमराज शर्मा, मिनबहादुर मल्ल, कौशिला कठायत, माया गौतम, अनिता पौडेल र सकिल खाँ रहेका छन्।

समितिले संकलन गरेको सामग्रीका आधारमा तयार हुने बुलेटिन सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने एमालेले जनाएको छ। सम्बन्धित व्यक्ति सम्पर्कमा नआए घरपरिवारमार्फत जानकारी गराउने र घरपरिवारसमेत सम्पर्कमा नआए सम्बन्धित रास्वपा नेता तथा पार्टी कार्यालयलाई बुलेटिन उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

एमाले बाँकेले भने अभियानको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा अपमानित वा प्रताडित गर्नु नभई सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्टता, चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध सभ्य, जिम्मेवार र मर्यादित राजनीतिक संस्कार निर्माण गर्नु रहेको स्पष्ट पारेको छ।
रसुवा बाढीपहिरोमा सरकार असफल भएको एमालेको निष्कर्ष

यसैबीच, एमाले बाँकेले भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोपछि उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएको छ।
सरकारको अहंकार, दम्भ र अल्पज्ञान तथा घटनाको गम्भीरतालाई सही ढङ्गले बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको दाबी गर्दै एमाले बाँकेले सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ।

लोकतन्त्रमा जनताले सरकार र राजनीतिक दलसँग प्रश्न गर्न तथा जवाफदेहिता खोज्न पाउने भन्दै एमालेले त्यस्ता प्रश्नको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्नेमा जोड दिएको छ।