२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास



अ+ अ-

नेपालमा प्राकृतिक विपद् आउँदा अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता आउनु नौलो विषय होइन । तर विगत एक दशकको घटनाक्रमलाई सुक्ष्म रूपमा केलाउने हो भने उत्तरी छिमेकी चीनको विपद् सहयोगको ढाँचा र शैलीमा व्यापक रूपान्तरण हुँदै आएको देखिन्छ ।

२०१५ को विनाशकारी भूकम्पमा आकस्मिक राहत सामग्री पठाउने ‘राहतदाता’को छविबाट शुरु भएको चिनियाँ उपस्थिति अहिले दीर्घकालीन विपद् व्यवस्थापन साझेदार, प्रविधि र सूचना आदानप्रदानकर्ता हुँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को प्रत्यक्ष ‘पार्टी–पार्टी कुटनीति’ सम्म विस्तार भएको छ ।

राज्य–राज्य (सरकार–सरकार) तहमा हुने औपचारिक सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका विभिन्न राजनीतिक दलहरूमार्फत प्रत्यक्ष रूपमा राहत र पुनर्निर्माण सहयोग परिचालन गर्ने अभ्यासले नेपालको विपद् व्यवस्थापन र भू–राजनीतिक कुटनीतिमा नयाँ अभ्यास भएको पाइन्छ ।

२०१५ को भूकम्पः संस्थागत विपद् सहकार्यको प्रस्थानबिन्दु

२०१५ को भूकम्प नेपाल–चीन विपद् सहकार्यको आधुनिक इतिहासमा सबैभन्दा ठूलो प्रस्थानबिन्दु थियो । भूकम्पलगत्तै चीन सरकारले उद्धार टोली, चिकित्सा सामग्री र ठूलो परिमाणमा नगद तथा जिन्सी अनुदान घोषणा गरेको थियो । तर त्यो सहयोग केवल आकस्मिक राहतमा सीमित रहेन । भूकम्पपछिको पुनर्निर्माणमा चीनले करिव ३ अर्ब युआन (करिव ४८० मिलियन अमेरिकी डलर) बराबरको सहयोग प्रतिवद्धता जनाउँदै विद्यालय, अस्पताल, पुरातात्विक सम्पदा र रणनीतिक सडक पूर्वाधारको पुनर्निर्माणमा मुख्य सहयोगी बन्यो  ।

त्यही समयमै चीनले विपद्पछिको सहयोगलाई केवल सरकारी संयन्त्रमा मात्र सिमित नराखी राजनीतिक संवादसँग जोड्ने पहिलो संकेत दिएको थियो । अगस्ट २०१५ मा सीपीसी केन्द्रिय समितिको अन्तर्राष्ट्रिय विभागका तत्कालीन सहायक मन्त्री दौ एन्योङ नेपाल भ्रमणमा आएका थिए ।

उनले चिनियाँ सहायता नेपालको पुनर्निर्माणमा प्रयोग हुने स्पष्ट पार्दै सीपीसी र नेपालका राजनीतिक दलहरूबीच सहकार्य गरेर जनजीविका सुधारका परियोजना अघि बढाउने प्रश्ताव प्रमुख दलका शिर्ष नेताहरू सामु राखेका थिए । त्यो भ्रमणले चीनको पार्टी–पार्टी सम्बन्धलाई भविष्यमा मानवीय तथा विकास सहायतासँग जोड्ने बलियो जग बसालेको थियो ।

तीन तहको सहायता संरचनाः राज्य, प्रविधि र पार्टी सम्बन्ध

पछिल्ला वर्षहरूमा चीनले नेपालमा विपद् सहायता परिचालन गर्न तीनवटा समानान्तर धार (थ्री–टियर मोडल) विकास गरेको देखिन्छ ः

१. राज्य–राज्य सहयोगः चीन सरकारले नेपाल सरकारको अर्थ मन्त्रालय, गृह मन्त्रालय वा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराउने औपचारिक अनुदान, आकस्मिक नगद सहायता र पुनर्निर्माण कोषमा योगदान गरेको छ ।

२. प्राविधिक तथा संस्थागत सहयोगः विपद्को पूर्वसूचना, भूकम्प मापन सञ्जाल, उपग्रह तथा जलविज्ञान तथ्यांक आदानप्रदान, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको सूचना प्रणाली सुदृढीकरण र विशेषीकृत उद्धार उपकरण हस्तान्तरणमा सहयोग गरेको छ ।

३. पार्टी–पार्टी च्यानलमार्फत सहायता ः सीपीसीको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरूसँग समन्वय गरेर स्थानीय स्तरमा सिधै पुग्ने गरी वितरण गर्ने मानवीय सहायता, जीविकोपार्जन र पुनर्निर्माण अनुदान दिदै आएको छ ।

यी तीन तहमध्ये पछिल्लो समय ‘पार्टी–पार्टी’ च्यानलको प्रयोग तिब्र बन्दै गएको छ, जसले परम्परागत कुटनीतिक संयन्त्रभन्दा फरक राजनीतिक सम्पर्कको अभ्यास देखाउँछ ।

जाजरकोट र २०२४ को बाढी:  पार्टी च्यानलको ठोस प्रयोग

चीन सरकारले दिने औपचारिक सहयोगबाहेक सीपीसीको अन्तर्राष्ट्रिय विभागले नेपालका दलहरूमार्फत राहत परिचालन गरेका ठोस प्रमाण २०२३ र २०२४ मा प्रष्ट रूपमा देखिएको छ ।

नोभेम्बर २०२३ को जाजरकोट भूकम्पपछि चीन सरकारको औपचारिक सहयोग अलग छँदै थियो । त्यसबाहेक ६ नोभेम्बर २०२३ मा सीपीसीको अन्तर्राष्ट्रिय विभागले जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि करिव २ करोड ७४ लाख नेपाली रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको थियो । काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूलाई उक्त सामग्री संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, २०२४ सेप्टेम्बरको विनाशकारी बाढी–पहिरोपछि सीपीसीको अन्तर्राष्ट्रिय विभागले ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’सँग मिलेर १ करोड ९७ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण ग¥यो । यस अभियानअन्तर्गत नेपाली कांग्रेस, एमालेलगायतका दलका प्रतिनिधिहरूमार्फत काठमाडौँ उपत्यका तथा बाढी प्रभावित क्षेत्रका १,२४२ भन्दा बढी परिवारलाई दैनिक उपभोग्य वस्तु, भाँडाकुँडा र लत्ताकपडा बाँडिएको थियो ।

यसले ‘सीपीसीले चिनियाँ गैरसरकारी संस्था अनि गैर सरकारी संस्थाले नेपाली राजनीतिक दल र दलमार्फत स्थानीय समुदाय’ सम्मको एउटा वैकल्पिक र प्रत्यक्ष वितरण संयन्त्र सक्रिय रूपमा स्थापित भएको छ ।

सीपीसीको  २ लाख डलर सहयोग

नेपालको राजनीतिमा आएको पछिल्लो शक्ति सन्तुलनसँगै चीनको पार्टी–पार्टी कुटनीति परम्परागत वामपन्थी वा पुराना दलहरूमा मात्र सिमित छैन भन्ने पछिल्लो घटनाक्रमले देखाएको छ । यसै क्रममा, पछिल्लो बाढीपहिरोपछिको पुनर्निर्माण तथा प्रभावित क्षेत्रमा विभिन्न प्रकारका मानवीय सहयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपाल सरकारलाई  २ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने भएको  छ ।

यो सहयोग चीन सरकारले नेपाल सरकारलाई घोषणा गरेको आकस्मिक राहतभन्दा भिन्न प्रकृतिको हो । यो सीपीसी र सरकार बीचको पार्टीगत संवाद र सहकार्यको माध्यमबाट विपद्पछिको पुनर्निर्माण तथा स्थानीय सहायतामा खर्च हुने गरी उपलब्ध गराउने भएको हो । उपलब्ध गराइएको आर्थिक सहायता रसुवा भोटेकोशी बाढी पछिको राहत उद्दार तथा व्यवस्थापनमा खर्च हुनेछ ।

विपद् र संकटको समयमा चिनिया कम्युनिष्ट पार्टी राजनैतिक दल भन्दा माथि उठेर  एकअर्काको साथमा उभिन र कठिनाइको समयमा सँगै रहेको प्रत्याभूति सधैं तयार रहेको स्पष्ट पारेको छ । साथै, विपद्लाई संयुक्त रूपमा परास्त गर्न र प्रभावित मानिसहरूलाई उनीहरूको घर पुनर्निर्माण गर्न चीनको सहयोग निरन्तर रहने पनि बताइएको छ ।

यसले सीपीसीले सबै सरकार र राजनीतिक शक्तिहरूसँग पनि विपद् र जनजीविकाका कार्यक्रममार्फत संस्थागत सम्बन्ध विस्तार गर्न खोजेको प्रष्ट परेको छ ।

प्रविधि, पूर्वसूचना र सीमापार विपद् व्यवस्थापन

चीनको विपद् कुटनीति राहत बाँड्ने र दलहरूसँग सम्बन्ध राख्ने विषयमा मात्र सिमित छैन, प्राविधिक क्षेत्रमा पनि यसको पहुँच उल्लेख्य रूपमा बढेको छ ।

नेपाल र तिब्बतबीचको जटिल भूगोल, सीमापार नदीहरू र हिमताल विस्फोटको जोखिमका कारण दुई देशबीच जल–मौसम विज्ञान तथ्यांक आदानप्रदान अनिवार्य बनेको छ । चीनले भोटेकोशी, त्रिशूली जस्ता सीमापार नदीहरूको जलसतह र बाढीसम्बन्धी पूर्वसूचना नेपाललाई उपलब्ध गराउने संयन्त्र बनाएको छ । साथै, भूकम्प अनुगमनका लागि नेपालभर भूकम्पीय मापन केन्द्रहरू स्थापना गर्न चीनले प्राविधिक तथा वित्तीय सहयोग पु¥याएको छ ।

भोटेकोशी तथा सीमावर्ती क्षेत्रमा आउने विपदमा चीनले आफ्नो भूगोलतर्फबाट २,१०० भन्दा बढी विशेष उद्धारकर्मी, ड्रोन र अत्याधुनिक जीवन पहिचान उपकरण परिचालन गरेर सीमा क्षेत्रको जोखिम न्युनिकरणमा भूमिका खेल्ने गरेको छ । यसले विपद् व्यवस्थापनमा चीनको भूमिका ‘सामग्री पठाउने दाता’बाट ‘उच्च प्रविधि र पूर्वसूचना साझेदार’मा रूपान्तरण भएको प्रमाणित गर्छ ।

‘राजनीतिक दल जीविकोपार्जन कार्य’:  कूटनीतिको दीर्घकालीन रणनीति

चीन र नेपालबीच २०२४ मा जारी संयुक्त वक्तव्यमै ‘चीन–नेपाल राजनीतिक दल जीविकोपार्जन तथा गरिबी न्यूुनिकरण कार्य’  औपचारिक रूपमा शुरु भएको उल्लेख गरिएको छ । यससँगै नेपालका दुर्गम गाउँहरूमा नमुना विकासका लागि ‘भाइब्रेन्ट भिलेज’ जस्ता परियोजनाहरू अघि सारिएका छन् कतिपय जिल्लामा यो निरन्तर पनि छ । यो कार्यक्रम स्थानीय गैर सरकारी संस्थाले निरन्तर चलाएका छन् ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदनमा समेत स्थान पाएको यो कार्यक्रमले चीन अब नेपालका राजनीतिक दलहरूसँग केवल सिद्धान्त, विचार वा औपचारिक भ्रमणमा मात्र संवाद गर्न चाहँदैन भन्ने स्पष्ट पार्छ । साथै  विपद् राहत, पुनर्निर्माण, गरिबी न्यूनीकरण र स्थानीय विकास परियोजनामा दलहरूलाई प्रत्यक्ष साझेदार बनाएर समुदायको तल्लो तहसम्म आफ्नो सद्भाव र प्रभाव विस्तार गर्न चाहन्छ ।

२०१५ देखि हालसम्म आइपुग्दा चीनको नेपाल नीतिमा विपद् कुटनीति एक प्रमुख रणनीतिक औजार बनेको छ । राज्यस्तरमा पूर्वाधार र प्रविधि हस्तान्तरण गर्ने तथा राजनीतिक स्तरमा दलहरूमार्फत प्रत्यक्ष राहत र पुनर्निर्माण सहयोग परिचालन गर्ने चिनियाँ रणनीति बहुआयामिक छ ।
संकटको घडीमा आउने विदेशी सहयोग जुनसुकै माध्यमबाट आए पनि त्यसले विपद्मा परेका नागरिकलाई तत्काल मलम लगाउन मद्दत गर्छ ।

तर यसको दीर्घकालीन व्यवस्थापनका लागि नेपाल सरकारले आफ्नो ‘एकद्वार प्रणाली’ र पारदर्शिताको संयन्त्रलाई चुस्त बनाउनु आवश्यक छ । –न्युज एजेन्सी नेपाल