१४ भाद्र २०८३, आईतवार
,
Latest
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड



अ+ अ-

काठमाडौँ। १० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् ।

उनीहरुका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तिब्र बनाउन आग्रह गरिरहेका छन् ।

सिन्धुपालचोककी निरुता तामाङका श्रीमान रसुवाबाट सम्पर्कविहीन भएको आईतवार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको खोजीमा अहिले उहाँ काठमाडौं आइपुग्नुभएको छ ।

तामाङले श्रीमान कतै जंगल वा सुरक्षित स्थानमा पुगेर बाँचिरहेको हुन सक्ने आशा अझै नमरेको बताउनु भयो । उहाँले सरकारसँग सम्पर्कविहीन भएका मानिसको खोजी तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले अहिले पनि सयौँ नागरिक रसुवा, नुवाकोट र धादिङका जंगलहरुमा पर्खाइमा रहेको भन्दै उद्धार कार्य छिटो बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो श्रीमान आशिष तामाङ बाढीमा सम्पर्कविहीन हुनुभएको छ । मेरो बच्चा २ वर्षको मात्र भयो । कतै भेटिनुहुन्छ कि भनेर यहाँसम्म आएकी हुँ । सरकारलाई पनि छिटोभन्दा छिटो खोज, उद्धार गरिदिन आग्रह गर्न चाहान्छु । बाढी आएको बेला कतै माथि जंगलतिर जानुभयो होला बाँच्नुभयो होला भन्ने आशा छ । जंगलमा रहेका मानिसहरुको छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्यो भन्न चाहन्छु ।’

यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा बाढीमा परेका धादिङका दर्जनौँ यात्रु बससहित अझै सम्पर्कविहीन छन् । धादिङका गोपाल विश्वकर्माका अनुसार नीलकण्ठ नगरपालिका–९ र १२ तथा अन्य पालिकाका समेत गरेर २६ जना बाढीपछि सम्पर्कविहीन भएको बताउनुभयो । उहाँले सम्पर्कविहीन साथिहरुको खोजिको लागि आफू काठमाडौं आएको बताउनुभयो । उहाँका अनुसार बाढीको त्रासदीबीच बेत्रावती पुगेपछि बसमा रहेका एक जनाले पोखरामा रहेका साथीलाई फोन गर्दै बस बगिसकेको र आफूहरुलाई पनि बाढीले बगाउन सक्ने भन्दै घरपरिवार र छोराछोरीको हेरचाह गरिदिन गरेका थिए ।

उहाँले भन्नुभयो, मेरा साथिहरु गोसाइकुण्ड जाने क्रममा बाढीमा परी सम्पर्कविहीन हुनुभएका धादिङ जिल्ला निलकण्ठ नगरपालिका–१२, ९ लगायतका ठाउँका २६, २७ जना साथिहरु हराइरहनुभएको छ ।

उहाँहरु बससहित जानुभएको थियो । बससहित अहिलेसम्म सम्पर्कमा हुनुहुन्न । बेत्रावती पुगेपछि एक जना साथिले मेरो पोखरामा रहेका साथिलाई फोन गरेर बस बगाइसक्यो, हामीलाई पनि बगाउँछ । घरपररिवार र छोराछोरी हेरिदिनुहोला भनेर फोन गरेको भन्ने बताउनुभएको थियो । एउटा लास यहाँ आएको छ । थप केही लास पनि आइरहेको भन्ने त थाहा पाएँ । अझै १९ जना सम्पर्कविहीन हुनुहुन्छ ।

त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको बाक्लो उपस्थिति थियो । बाढी आएपछि सम्पर्क हुन नसक्दा अवस्था बुझ्न र खोजी गर्न आएका परिवारजनका कारण अस्पताल परिसर व्यस्त छ ।–न्युज एजेन्सी नेपाल