ओखलढुङ्गा। ओखलढुङ्गाका वाम्बूले राई समुदायले आफ्नो मौलिक पर्व ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन् ।
जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु भई आजसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई बस्तीमा देखिएको थियो । विशेष गरी वाम्बूले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सालगायत ठाउँमा यो चाड धुमधामका साथ मनाउने गरिन्छ ।
वर्षेबाली पाकिसकेपछि पहिला प्रकृति र पितृलाई चढाउनुपर्छ भन्ने मान्यताअनुसार कूल देवता लिब्जू उपोको सामाथानमा विशेष पूजाआजा गर्ने ढ्वाङकुममा चलन रहेको वाम्बूले राई समुदायका शिशी नाक्सो भक्तराज राईले बताउनुभयो ।
यो समुदायले शिशी, सिकारी, बुलु र ढ्वाङकुर्मो नाक्सोमार्फत प्रकृति र पितृलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायत वस्तु चढाउने गर्छन् । हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङ्कुमटारमा पुगेपछि घर परिवार र आफन्त भेटघाट तथा नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । ढ्वाङकुम चाडमा खानपान र भेटघाटसँगै मौलिक ढङ्गको रमाइलो हुने गरेको स्थानीय परान राईले जानकारी दिनुभयो ।
ढ्वाङकुम चाडकै अवसरमा यसवर्ष तीनदिने ढ्वाङकुम महोत्सवसमेत आयोजना गरिएको छ । ढ्वाङकुम चाडलाई अझ बृहत र आकर्षक बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष कल्याण राईले जानकारी दिनुभयो । रासस









