१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो



अ+ अ-

कास्की। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका शवमध्ये आज तीन जनाको पहिचान भएको छ । पहिचान भएकामध्ये एक जनाको शव आफन्तलाई बुझाइएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका–१ निवासी ३७ वर्षीय यादव भण्डारीको शव पहिचान भएको छ । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत अधिकृत भण्डारीको शव उहाँका दाजु चुडामणि भण्डारीले पहिचान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यसैगरी, नवलपरासीको देवचुली क्षेत्रमा फेला परेर प्रतिष्ठान ल्याइएको शव अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ निवासी ४७ वर्षीय नारायण थापाको रहेको पहिचान भएको छ ।

उहाँ रसुवाको बेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापनरत रहेको जनाइएको छ । उहाँको शव श्रीमती कमला थापाले पहिचान गर्नुभएको प्रशासनले जनाएको छ ।

त्यसैगरी, धादिङ जिल्लामा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको शवमध्ये भक्तपुर नगरपालिका–९ निवासी ३६ वर्षीय सत्यसुन्दर प्रजापतिको शव पहिचान भएको छ । उहाँको शव भाइ सत्यकृष्ण प्रजापतिले पहिचान गरेपछि आफन्तलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीस्थित त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका १०२ शव परीक्षणका लागि पोखरा ल्याइएको थियो । फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया निरन्तर जारी रहेको प्रशासनले जनाएको छ ।

शुक्रबार साँझसम्म ५७ शवको औँठाछाप परीक्षण (फिङ्गरप्रिन्ट) तथा सरसफाइ गरिएको छ भने ११ शवको पोस्टमार्टम सम्पन्न भएको बताइएको छ ।

शवहरूको पहिचानकार्य पनि निरन्तर भइरहेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । बाढीपछि विभिन्न स्थानमा भेटिएका शव यहाँ ल्याइएपछि सम्पर्कविहीन व्यक्तिका आफन्त तथा परिवारजन पहिचानका लागि पोखरा आएका छन् । उनीहरुलाई यहीँ निःशुल्क खानेबस्ने प्रवन्ध गरिएको प्रशासनले जनाएको छ । रासस