मोरङ। रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना अझै सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका १५ जना हालसम्म सम्पर्कविहीन रहेकाले निरन्तर खोजी भइरहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तीन जनालाई उद्घार गरी विभिन्न अस्पतालमा उपचार जारी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म सम्पर्क हुन नसकेकामा विराटनगर महानगरपालिका-७ का शिवशङ्कर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका-११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पुजा आचार्यसहित तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ, पासाङ तामाङ, रङ्गेली नगरपालिका-६ का सुरज मण्डल, पथरी सनिश्चरे नगरपालिका-७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर-१ का दुर्गाप्रसाद पोखरेल छन् । रासस









