काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराउन आह्वान गरेका छन्।
नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नोे एक महिनाको पेन्सनबापतको रु ८७ हजार प्रदान गर्दै उनले दुःखको यस घडीमा प्रभावित परिवारको राहतमा सहयोग पुर्याउन सबैसँग आग्रह गरे।
पूर्वअध्यक्ष रेग्मीले भने, “समाजका सबै तह र तप्काका नागरिकलाई प्रभावितको खोजी र उद्धारमा सहयोग गर्न अपिल गर्दछु।” उनले बाढी प्रभावित परिवार र क्षेत्रको पुनःनिर्माणमा हातेमालो गर्न स्वदेश र विदेशमा रहेका नेपाली तथा अन्तरराष्ट्रिय समुदायलाई अनुरोध गरेका छन्।
बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वअध्यक्ष रेग्मीले अझै केही सम्पर्कविहीन रहेको र विदेशी पर्यटकसमेत उक्त घटनामा परेकामा आफूलाई दुःखित तुल्याएको बताए।
उनले भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। पूर्वअध्यक्ष रेग्मीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।









