जनकपुर। मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर यही भदौ १० गते बिदा दिने निर्णय गरेको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशङ्करप्रसाद पालले आज सूचना जारी गर्दै बुधबार परेको मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।
सूचनामा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने व्यवस्था भए बमोजिम प्रदेशमा बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
मन्त्रालयले बिदासम्बन्धी निर्णयबारे प्रदेशका सम्बन्धित सबैलाई जानकारी गराएको छ । रासस









