दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस गरिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनःगठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित सिफारिस गर्नुभएको हो ।
मन्त्रिपरिषद् पुनःगठनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको छ ।
प्रदेश प्रमुख कार्यालयका सचिव राजेश गौतमले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णाकुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको उहाँले बताउनुभयो ।
सचिव गौतमका अनुसार यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहनुभएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय र तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको छ ।
नयाँ नियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मङ्गलबार दिउँसो ३ः२५ बजे राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव गौतमले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सबै प्रदेशसभाका सदस्यलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभयो । रासस









