मस्को। बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले सोमबार दावी गरेको छ । क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ ।
यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किएभ भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो ।
बेलायत सरकारले रक्षा कम्पनी एमबिडीएलाई ‘फ्रान्को–ब्रिटिश मिसाइल’मा प्रयोग हुने बेलायती उपकरणहरूको जानकारी दिने अनुमति जारी गर्ने बताएको छ, यसले गर्दा किएभले घरेलु रूपमा ती मिसाइल उत्पादन गर्न सक्नेछ ।
‘स्काल्प ब्लूप्रिन्ट’बारे सोधिएको बेला क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भन्नुभयो, “बेलायत नियमित रूपमा विधिपूर्वक आगोमा इन्धन थप्ने काम गरिरहेको छ र शान्ति प्रक्रियामा हुने थोरै भएपनि प्रगति रोक्न विधिपूर्वक र नियमित रूपमा योजना बनाइरहेको छ।”
“हाम्रा सशस्त्र बलहरू तदनुसार काम गरिरहेका छन्, यस्ता मिसाइल र अन्य सैन्य उपकरणका उत्पादन स्थल पहिचान गर्न सम्बन्धित गुप्तचर जानकारी सङ्कलन गर्दै छन् र ती सुविधाहरू नष्ट गर्ने उपाय लिइरहेका छन्,” पेस्कोभले भन्नुभयो ।
‘स्काल्प मिसाइल’ अर्थात् लामो दूरीको क्रुज मिसाइलले करिब २५० किलोमिटर (करिब १५० माइल) टाढासम्मका लक्ष्यमा हान्न सक्छ ।
फ्रान्स र बेलायतले सन् २०२२ मा रुसले पूर्णरूपमा आक्रमण सुरु गरेदेखि युक्रेनलाई यो हतियार आपूर्ति गर्दै आएका छन्, तर किएभले अहिलेसम्म घरेलु रूपमा उत्पादन गरेको छैन ।
बर्नहमले सोमबार युक्रेनको स्वतन्त्रता दिवस समारोहका लागि किएभ भ्रमण गर्नुभएको छ । समारोहमा उहाँले युक्रेन सरकारका लागि बेलायतको सैन्य सहयोग कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“मेरो देशविरुद्ध रुसका अशोभनीय धम्कीका बाबजुद हामी युक्रेनको रक्षाका लागि आफ्नो सहयोग जारी राख्नेछौँ,” बर्नहमले युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकअघि गरेकोे सम्बोधनमा भन्नुभयो । (रासस/एएफपी)









