३१ श्रावण २०८३, आईतवार
,
Latest
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ



अ+ अ-

इलाम। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउनुभएको छ ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिनुभएको हो ।

अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ भन्नुभएको छ । पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उहाँले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।

पार्टीको एउटा विधि र विधान हुने भन्दै उहाँले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु अराजकता भएको उल्लेख गर्नुभयो । पार्टीमाथि वाह्य शक्ति र विरोधीहरूले तिब्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने बताउनु भयो ।

अध्यक्ष ओलीले अब बस्ने केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह गर्दै गर्दै उहाँले पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो । अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो । अस्ति मात्र महाधिवेशन सम्पन्न भएको छ । पार्टीको आफ्नै विधि, प्रक्रिया र समय हुन्छ । अहिले विरोधीहरूले तिब्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो । तर पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन । त्यसैले साथीहरूलाई पार्टीप्रति दृढ विश्वास राखेर अघि बढ्न आग्रह गर्दछु । केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइनेछ । पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ । कुनैपनि संस्था वा संगठनमा काम गर्दा त्यसका नियम, नीति र अनुशासन मान्नुपर्छ । अब यही कुरा दृढतापूर्वक कार्यान्वयन गरिनेछ ।’

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनैपनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल