२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन



अ+ अ-

काठमाडौँ  । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

आज सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेको उल्लेख गर्नुहुँदै सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको हो ।

सो छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो ।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’ का रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो । सञ्चारमन्त्रीले डा तिमिल्सिनाले एकातर्फ दुर्गम र कतिपय सहरी क्षेत्रमै पनि नागरिकले टेलिफोन तथा इन्टरनेटको राम्रो सुविधा पाउन नसकेको तर अर्कोतर्फ ग्रामीण दूरसञ्चार विकासका लागि संकलन हुँदै आएको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रुपमा खर्च हुन नसकेको बताउनुभयो । नागरिकबाट संकलित रकम नागरिककै सेवा विस्तारमा खर्च हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारका लागि आरटिडिएफको प्रभावकारी परिचालन गर्न निर्देशन दिनुभयो ।

“आरटिडिएफको पैसा नागरिकको पैसा हो । त्यसबाट नागरिक लाभान्वित हुनुपर्यो । त्यसको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भनेर नियामकले नियमन गर्नुपर्यो, सेवा प्रदायकले राम्रो सेवा दिनुपर्यो,”उहाँले भन्नुभयो ।

शहरी तथा व्यावसायिक रूपमा लाभ हुने क्षेत्रमा सेवा प्रदायकले आफ्नै लगानीमा पूर्वाधार विस्तार गर्न सक्ने भए पनि आर्थिक प्रतिफल कम हुने दुर्गम क्षेत्रमा राज्यको भूमिका आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । कुनै स्थानमा मोबाइल टावर निर्माण गर्दा तत्काल व्यावसायिक नाफा नदेखिए पनि त्यहाँका नागरिकलाई सञ्चार सेवासँग जोड्नु राज्यको प्राथमिकता दायित्व रहेको उहाँले बताउनुभयो । विशेषगरी दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा नाफा र प्रतिफल मात्र हेर्नुभन्दा नागरिकलाई आधारभूत दूरसञ्चार सेवामा पहुँच पु¥याउने विषयलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवा विस्तार तथा गुणस्तर सुधारका लागि स्पष्ट व्यावसायिक योजना बनाएर अघि बढ्न र हाल सञ्चालन आउन नसकेका तथा विस्तार गर्नुपर्ने आयोजनालाई गति दिन निर्देशन दिनुभयो । अप्टिकल फाइबर विस्तारको कामलाई तीव्रता दिन पनि उहाँले निर्देशन दिनुभएको छ । लामो समयदेखि अघि बढ्न नसकेका टावर निर्माण तथा अप्टिकल फाइबर विस्तारसम्बन्धी रुग्ण आयोजनालाई तत्काल टुंग्याउन र ती आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा एक साताभित्र विस्तृत कार्ययोजनासहित निर्णय गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

दूरसञ्चार पूर्वाधार विस्तारका क्रममा विभिन्न सरकारी निकायबीच समन्वय अभावका कारण काममा ढिलाइ हुन नहुने भन्दै उहाँले सडक विभाग, नेपाल विद्युत् प्राधिकरणलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी तत्काल परिणाम देखिनेगरी काम गर्न निर्देशन दिनुभएको हो ।

छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले आरटिडिएफको रकम प्रयोग गरी सेवा विस्तारका लागि प्राधिकरणले लामो समयदेखि काम गर्दै आए पनि कतिपय आयोजना अझै सम्पन्न हुन नसकेको जानकारी गराउनुभयो । उहाँका अनुसार कोशी, बागमती र मधेश प्रदेशमा अप्टिकल फाइबर विस्तारका लागि आरटिडिएफको रकम परिचालन गर्ने गरी अघि बढाइएका आयोजना निर्धारित समयमा सम्पन्न हुन सकेका छैनन् । आयोजना सम्पन्न नभएका कारण त्यससम्बन्धी भुक्तानीसमेत हुन नसकेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा समेत आरटिडिएफमार्फत दूरसञ्चार सेवा विस्तारका आयोजना अघि बढाइएका छन् । दुर्गम तथा सेवा विस्तारका दृष्टिले चुनौतीपूर्ण क्षेत्रमा आरटिडिएफको रकम परिचालन गर्न आवश्यक समन्वय प्राधिकरणले गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । अध्यक्ष घिमिरेले दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक आर्थिक स्रोत, प्रविधि र जनशक्ति भए पनि नागरिकका गुनासा अपेक्षाअनुसार सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभयो । शहरी तथा व्यावसायिक रूपमा लाभ हुने क्षेत्रमा सेवा प्रदायकले आफ्नै लगानीमा पूर्वाधार विस्तार गरिरहेको भए पनि आर्थिक प्रतिफल कम हुने दुर्गम क्षेत्रमा राज्यको लगानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले कम लगानी प्रतिफल हुने दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार चुनौतीपूर्ण रहेको बताउनुभयो । त्यस्ता क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी, ब्याण्डविथ र पूर्वाधार आवश्यक पर्ने उहाँको भनाइ थियो । दुर्गम क्षेत्रमा स्याटालाइट ब्याण्डविथ खरिद गरेर सेवा सञ्चालन गर्नुपर्ने अवस्थामा लागत उच्च हुने र त्यसअनुसार आर्थिक प्रतिफल निकै कम हुने भएकाले त्यस्तो खर्चमा आरटिडिएफको रकम परिचालन गर्न सकिने प्रस्ताव प्रबन्ध निर्देशक पहाडीले गर्नुभयो ।

हाल कतिपय दुर्गम स्थानमा नेपाल टेलिकमले २जी सेवा मात्र सञ्चालन गर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले त्यस्ता क्षेत्रमा ४जी सेवा विस्तार गर्न थप लगानी आवश्यक पर्ने बताउनुभयो । २जीको तुलनामा ४जी सेवा विस्तार गर्दा ब्याण्डविथको लागतसमेत उल्लेख्य रूपमा बढ्ने भएकाले दुर्गम क्षेत्रमा उच्चगतिको मोबाइल इन्टरनेट सेवा पु¥याउन थप स्रोत आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षमा करिब एक हजार किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ । यद्यपि वार्षिक लक्ष्यअनुसारको कामलाई मात्र सीमित नराखी थप प्रगति गर्ने योजना रहेको टेलिकमले जनाएको छ । आरटिडिएफको रकममार्फत अप्टिकल फाइबर विस्तारका लागि आवश्यक सुविधा उपलब्ध गराउनसमेत टेलिकमले आग्रह गरेको छ ।

शहरी क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि विस्तार गरिएका अव्यवस्थित तारको व्यवस्थापनको विषयमा समेत छलफल भएको छ । सडक तथा सार्वजनिक संरचनामा अव्यवस्थित रूपमा रहेका तार हटाउने, व्यवस्थित गर्ने तथा सम्भव भएका स्थानमा भूमिगत गर्ने विषयमा सम्बन्धित निकायबीच थप समन्वय गर्दै अघि बढ्ने बैठकको निश्कर्ष छ