काठमाडाैँ । थाइल्यान्डबाट नेपालमा ११ किलो गाँजा ल्याएको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले लागूऔषध तस्करीको आशंकामा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार मिति २०८३ साउन १६ गते राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर CX ६०३ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिकको झोला जाँच गर्दा लुकाएर ल्याइएको ११ किलो गाँजा बरामद भएको थियो। उक्त गाँजा लिन विमानस्थलमा आएका अर्का एक भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा भारतको लुधियाना, पञ्जाबका ३० वर्षीय सोनी र २३ वर्षीय जागरुप सिंह तथा भारतको कैरु, हरियाणाका २२ वर्षीय साहिल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ११ किलो गाँजा, तीन थान पासपोर्ट र तीन थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।











