अकल्यान्ड। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन् ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युजिल्यान्डको आदिवासी माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद (गार्ड अफ अनर) प्रदान गर्नुभयो । गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबिचको सम्बन्ध विस्तारको प्रयास भइरहेका बेला लक्सनले उक्त सम्झौतालाई आर्थिक लाभको महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्नुभएको हो ।
जुलाई ६ देखि जुलाई ११ सम्मको मोदीको भ्रमण इन्डोनेसिया र अस्ट्रेलियाको यात्रासहितको कार्यक्रमको अन्तिम चरण हो । प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता बढिरहेका बेला मोदीको न्युजिल्यान्ड भ्रमण भएको हो । चालिस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो न्युजिल्यान्ड भ्रमण हो । यसले प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बिच भारतको कूटनीतिक सक्रियतालाई पनि सङ्केत गरेको छ ।
अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा मोदीको स्वागत गर्दै प्रधानमन्त्री लक्सनले भारत-न्युजिल्यान्ड साझेदारीले सम्बन्धलाई नयाँ दिशा र व्यापकता प्रदान गर्ने बताउनुभयो । मोदीले दुई देशबिचको सम्बन्धलाई ‘थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने महत्त्वपूर्ण कोशेढुङ्गा’ को सङ्ज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो साझा प्रतिबद्धताले हामीलाई स्वाभाविक साझेदार बनाएको छ ।”
दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, नौसेना अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ । दुवै नेताले “स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र” निर्माणमा साझा चासो रहेको बताएका छन् । रासस/एएफपी










