१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिकाका विद्यालयमा मगर खाम भाषामा पढाइँ



अ+ अ-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गरेको छ। कक्षा १, २ र ३ को पुस्तकलाई नेपालीका साथै मगर खाम भाषामा समेत प्रकाशन गरेको हो ।

सात वडा रहेको पालिकामा मगर समुदायको बाहुल्यता छ। नेपाली र मगर जातिको खाम भाषामा एकै पटक पढ्न र पढाउन मिल्ने गरी पुस्तक प्रकाशन गरेको मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।

“कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रममा पुस्तक तयार भएको छ”, उहाँले भन्नुभयो, “नेपालीसँगै मगर खाम भाषाका बाक्यलाई एउटै पृष्ठमा राखिएकाले दुबै भाषामा पठनपाठन गराउन सकिने बनाएका छौं ।”

शिक्षा अधिकृत रिजालले गाउँपालिकाले स्थानीय शिक्षक र शिक्षा शाखाका कर्मचारीको सहयोगमा नेपाली भाषामा तयार पारिएको पुस्तकलाई कर्णजित बुढामगरले मगर खाम भाषामा रूपान्तरण गर्नुभएको हो ।

मगर समुदायका बालबालिकाले खाम र अन्य समुदायका बालबालिकाले नेपाली भाषामा स्थानीय पुस्तक पढ्छन् । पुस्तकमा गाउँपालिकाको परिचय, जनजीवन, कृषि, धार्मिक, पर्यटकीय, ऐतिहासिक स्थल, गाउँबस्ती, वनस्पति, प्राकृतिक सम्पदादेखि खेती, पशुपालन र पेसा व्यवसायका विषयवस्तु समेटिएका छन् ।

पालिकाभित्र ४२ विद्यालय छन् । नेपालीमा ‘हाम्रो मालिका’ र खाममा भाषामा ‘गेंमी मालिका’ नामाकरण गरिएको छ । पुस्तकले बालबालिकालाई स्थानीय तह तथा लोप हुने अवस्थामा रहेको खाम भाषाको पुनःउत्थान हुने गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

“मगर खाम भाषाको संरक्षण, पुनःरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि मगर खाम भाषाको पुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “बालबालिकालाई दैनिक बोलीचाली र जीवनयापनमा बढी प्रयोग हुने शब्दावलीलाई पुस्तकमा समेटिएको छ ।” पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले स्थानीय पुस्तक आफ्नै भाषामा पठनपाठन गर्न पाउँदा बालबालिकालाई सिक्न र बुझ्न सजिलो हुने बताउनुभयो ।

यसअघि म्याग्दीको रघुगङ¬्गा गाउँपालिकाले खाम भाषामा पठनपाठन सुरु गरेको थियो । बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले यसअघिनै स्थानीय पुस्तक पठनपाठन गराउन थालेका थिए । रासस