लखनऊ। उत्तर प्रदेशको लखनऊको अलिगञ्ज क्षेत्रमा सोमबार कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो ।
किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले एएनआईसँग कुराकानी गर्दै भन्नुभयो, “अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। शवहरूलाई पोस्टमोर्टमका लागि पठाइएको छ । थप सात देखि आठ जना अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
तीमध्ये दुई जनालाई सामान्य चोट लागेको छ । एक युवकको ढाडमा गम्भीर चोट लागेको देखिन्छ, हाम्रा चिकित्सकहरूले उनीहरूको उपचार गरिरहेका छन्।”
“धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर भएको देखिन्छ,” सिंहले भन्नुभयो ।
आगलागी एक भवनमा भएको थियो जसमा लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युट थियो। एक प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा ठूलो आतङ्क मच्चिएको थियो र एक व्यक्तिले भवनबाट हाम फालेका थिए र उनलाई गम्भीर चोट लागेको छ ।
यसैबीच, फ्रान्सको समाचार संस्था एएफपीले आगलागीको समाचार छाप्दै भनेको छ, “भारतको लखनऊमा भएको आगलागीबाट १४ जना बालबालिकाको मृत्यु भएको र दर्जनौ अन्य घाइते वा विरामी परेका छन् ।”
उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकलाई उद्धृत गरी प्रकाशित उक्त समाचारमा मृत्यु हुने सबै विद्यार्थी थिए वा अरू कोही हुन् भन्ने नखुलेको उल्लेख छ ।
मृतकका आफन्तजनलाई जनही दुई लाख उपलब्ध गराइने
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट राहतस्वरूप आर्थिक सहायताको घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालयले एक्समा जारी एक विज्ञप्तिमा मृतकका नातेदारहरूलाई कोषबाट जनही दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने बताएको छ ।
प्रधानमन्त्रीको कार्यालयले जारी गरेको सन्देशमा भनिएको छ, “उत्तर प्रदेशको लखनऊमा भएको आगलागीबाट भएको दुर्घटनामा ज्यान गुमाउनेहरूको समाचारले मलाई स्तब्ध बनाएको छ । शोकाकुल परिवारप्रति मेरो समवेदना छ । घाइतेहरू चाँडै निको होऊन् । उद्धार कार्य भइरहेको छ र अधिकारीहरूले सबै सम्भव सहयोग गरिरहेका छन्।”
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ । अलीगढमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लखनऊको घटनाको जानकारी पाएपछि आफ्नो अलीगढ भ्रमण छोट्याएर तत्काल लखनऊ फर्किने बताउनुभएको थियो ।
“मलाई लखनऊमा भएको घटनाको जानकारी प्राप्त भएको छ । त्यहाँ आगलागीमा केही विद्यार्थीहरू परेका छन् र उनीहरूको दुःखद मृत्यु भएको छ । प्रशासनले उद्धार कार्य गरिरहेको छ तर यो दुःखद् घटनाका कारण म तुरुन्त लखनऊ फर्किंदैछु,” मुख्यमन्त्रीले भन्नुभएको थियो ।
शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँले भन्नुभयो, “जसले आफ्ना युवा सन्तान गुमाएका छन्, ती परिवारहरूप्रति मेरो हार्दिक समवेदना छ।”
मुख्यमन्त्रीले प्रहरी महानिर्देशक र सङ्घीय गृह मन्त्रालयका अतिरिक्त मुख्य सचिवलाई घटनास्थलमा गएर रिपोर्ट बुझाउन निर्देशन दिएको बताउनुभयो । “हामी यो घटनाको गम्भीर छानबिन गर्नेछौँ र दोषीलाई कडा कारबाही गर्नेछौँ,” उहाँले जोड दिनुभयो ।
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले पनि घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
“लखनऊको अलीगञ्जमा कोचिङ सेन्टरमा भएको आगलागीको घटना अत्यन्त हृदयविदारक छ। यस दुर्घटनामा आफन्त गुमाउने सबै परिवारहरूप्रति मेरो समवेदना छ। घाइतेहरूको छिट्टै स्वास्थ्यलाभको कामना गर्दछु,” राजनाथ सिंहले एक्समा लेख्नुभएको छ। (रासस/एएनआई)











